प्रधानमन्त्री समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
काठमाडौँ, २६ कात्तिक । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न यही कात्तिक ५ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहनुभएको समिति गठन गरिएको थियो । समितिलाई २१ दिनको अवधि दिइएको थियो ।
प्रतिवदेन बुझाएपछि मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने विश्वास व्यक्त गर्नुभयो । “प्रतिष्ठानमा देखिएका विवादका विषयको छानबिनको माग गर्दै सिनेटका छ जना सदस्यले निवेदन दिएका आधारमा छानबिन समिति गठन भएको र यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको अवस्थामा अब छिट्टै समस्याको समाधान हुनेछ”, उहाँले भन्नुभयो ।
प्रतिवेदन तयार गर्ने क्रममा आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर गरिएको छलफल र विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिइएको छ । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।
यो पनि पढ्नुहोस्..तिहार र छठमा लाखौँ मूल्यको केरा बिक्री
उदयपुर, २६ कात्तिक । तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।
जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउनुहुन्छ । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउनुहुन्छ । चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताउनुभयो ।हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दशाँै लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउनुहुन्छ । यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झण्डै रु आठको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताउनुभयो ।
उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै रु आठ लाख बराबरको केरा बिक्री भएको चौधरी बताउनुहुन्छ । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन् । दसैँ, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताउनुभयो । उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो । केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक रु दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ ।


