धान खेतमै पुगेर जनगणना

बनियानी, २५ कात्तिक । जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भर्नुभयो । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिप्नुभयो ।“घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँ गएर फाराम भर्ने गरेकी छु”, उहाँले भन्नुभयो, “कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।” गणनाका लागि जाँदा केही समस्या आउने गरेको उहाँको भनाइ छ । “केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्”, उहाँले भन्नुभयो, “डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।”

बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदूरी गरेर बस्नको सङ्ख्या धेरै छ । जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच÷छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताउनुभयो । “कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो”, बिर्तामोड–५ मा गणकका लागि खटिनुभएका उहाँले भन्नुभयो, “धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।” उहाँले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताउनुभयो ।राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् । जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।

यो पनि पढ्नुहोस्..प्रधानमन्त्री समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
काठमाडौँ, २६ कात्तिक । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो ।

प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न यही कात्तिक ५ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहनुभएको समिति गठन गरिएको थियो । समितिलाई २१ दिनको अवधि दिइएको थियो । प्रतिवदेन बुझाएपछि मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने विश्वास व्यक्त गर्नुभयो ।

“प्रतिष्ठानमा देखिएका विवादका विषयको छानबिनको माग गर्दै सिनेटका छ जना सदस्यले निवेदन दिएका आधारमा छानबिन समिति गठन भएको र यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको अवस्थामा अब छिट्टै समस्याको समाधान हुनेछ”, उहाँले भन्नुभयो । प्रतिवेदन तयार गर्ने क्रममा आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर गरिएको छलफल र विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिइएको छ । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।