किन सरकारले तोकेको मूल्य पाउँदैनन् किसान

रञ्जिता अधिकारी,देउखुरी, २७ कात्तिक। सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उहाँले भन्नुभयो । लमही नगरपालिका–३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गर्नुभएको थियो । गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो । मसिनो धान रु दुई हजार ५०० मा बिक्री गरेको उहाँले बताउनुभयो । सरकारले तोकेको समर्थन मूल्य नपाएको उहाँको गुनासो छ ।

नेपाल सरकारले किसानबाट धान खरिद गर्नको लागि न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७०० र मध्यम खालको धान रु दुई हजार ९०० प्रतिक्विन्टल खरिद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा रु दुई हजार ३०० क्वीन्टल र मसिनो धान बढीमा रु दुई हजार ५०० मा खरिद गर्ने काम भइरहेको कक्षपति राइसमिल लमहीका म्यानेजर मदन अधिकारीले बताउनुभयो । पानीबाट बचेको धान मात्रै खरिद गरिरहेको उहाँले जानकारी दिनुभयो

बेमौसमी वर्षाले ७० करोड क्षति

दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसअन्तर्गत रु ७० करोड मूल्य बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ । जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो ।

खाद्यले धान खरिद नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नआएको कार्यालयले जनाएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी नआएको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिनुभयो । “अहिले सम्म कुनै जानकारी आएको छैन, यस वर्ष धान खरिद हुँदैन”, उहाँले भन्नुभयो । “धान खरिद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्छन्”, चौधरीले भन्नुभयो ।

कम्पनीलाई जिल्ला बाहिर लगेर धान कुटाउनु पर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका धेरै मिलसँग समन्वय भएपनि कुटाउन नमानेको उहाँको भनाइ छ । “हाम्रोे मापदण्डअनुसार कुटानी गर्न सक्दैनौँ भनेका कारण कुटानीमा समस्या छ”, उहाँले भन्नुभयो । अन्य जिल्लामा खरिद गरेर कुटानी गरेको चामल आइ रहेको चौधरी बताउँनुहुन्छ । “हामीसँग चामल राख्नका लागि मात्र स्थान छ तर धान खरिद गरेर राख्न स्थान पनि छैन त्यसैले पनि समस्या परेको हो”, उहाँले भन्नुभयो । व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्ने आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने भएको छ । वर्षाले धान खेतीमा क्षति पु¥याएको तथा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा कृषक थप पीडामा रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।