सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालय बस हस्तान्तरण

परासी, २७ कात्तिक । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिनुभयो । पाल्हीनन्दन–२ स्थित हरपुर मावि र पाल्हीनन्दन–६ स्थित सुकदेव मावि सनईलाई एक÷एक वटा विद्यालय बस आज हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा थप गरेका हौँ ।”

शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । थप दुई वटा सामुदायिक विद्यालयलाई पनि केही दिनभित्र विद्यालय बस हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ । भारतीय सीमासँग जोडिएको यो गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा पहिलोपटक विद्यालय बस सञ्चालन गरिएको हो ।

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ
राँझा, २७ कात्तिक।पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिनुभयो ।उहाँका अनुसार, भारत सरकारको रु दुई अर्ब ३५ करोडमा भारतकै राजदीप विल्डकन प्रालिले दुई वर्षमा सक्ने गरी काम थालेको छ । कम्पनीले काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन । एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारी साधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुन पुगेको छ ।

कोरोनाले काममा चार महिना ढिलाइ गरेको बताउँदै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर भुसालले बताउनुभयो । अहिले एकीकृत जाँच चौकीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम सँगसँगै भइरहेको छ । दुई दशमलव दुई किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको उक्त सडकमा बीच बिन्दूबाट १२ मिटर कालोपत्रे गरिने इन्जिनियर भुसालको भनाइ छ ।

कूल ८८ बिघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायतका संरचना निर्माण हुन लागेको छ । एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्य रहेकाले जाँच चौकी निर्माणसँगै ट्राफिक जाम नहुनुका साथै व्यापारीलाई ठाउँ–ठाउँमा जाँचको लागि जाने झमेला नहुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारत बीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज र भैरहवाको काम सँगसँगै अगाडि बढेको इन्जिनियर भुसालले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।