रु तीन करोड ३१ लाखको लागतमा पचालझरनामा पदमार्ग बन्दै

मान्म, २७ कात्तिक । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो । नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो । “यही कात्तिक ३० गते पदमार्ग शिलान्यास गरिने कार्यक्रम रहेको छ,” उहाँले भन्नुभयो, “पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ ।”मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको छ । यस झरनाको लम्बाइ ३८१ मिटर भएको बताइए पनि प्राविधिक जाँच भने गरिएको छैन ।

विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताउनुभयोे । “पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्उ सङ्घसंस्थाको संग्लनता हामीले गत वर्ष उचाइ मापन गरेका हौँ,” उहाँले भन्नुभयो, “जिपिएस र अन्य विधिबाट उचाइ मापन गरेका थियौँ ।” यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताउनुभयो । पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको उहाँको जिकिर थियो ।

लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै
लमजुङ, २७ कात्तिक । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । वर्षेनि यहाँ उक्त प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको र यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । यस्ता प्रतियोगिताबाट वर्षेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्षसमेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०÷५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिमा खेलहरुमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ ।प्रतियोगितामा करिब २५ टोलीको सहभागी हुने अपेक्षा भए तापनि राम्रो टोली छनोट गरेर १६ टोलीलाई मात्र खेलाउने कि वा सहभागी सबै टोलीलाई खेलाउने भन्ने विषयमा टुङ्गो लगाउन भने बाँकी रहेको अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार प्रतियोगितामा दैनिक पाँच हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ । करिब १० दिनसम्म हुने प्रतियोगिता अवधिभर ५० हजार दर्शकको उपस्थित हुने अनुमान आयोजकको छ । यहाँ सहभागी दर्शकमध्ये दैनिक आठ सयलाई प्याराफिट सिटमा बस्न सक्ने र उनीहरुलाई प्रतिव्यक्ति रु ५० टिकटको व्यवस्था गरिने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।