सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गर्नुभयो । “समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्”, उहाँले भन्नुभयो । अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसङ्गति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसङ्गतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा
वाग्मती, २७ कात्तिक । राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६÷७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा परेको हो ।उक्त बस सञ्चालनका लागि आव २०७६÷७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र आव २०७७÷७८ मा विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ ।

प्रदेश सरकारले चालु आव २०७८÷७९ मा पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र १५ वटा चार्जिङ स्टेसनका लागि सामग्री खरिद र जडान प्रक्रिया समेतका लागि रु ५० करोड विनियोजन गरेको बताइए पनि चालु आवको चौथो महिना बित्नलाग्दासमेत बस खरिद प्रक्रियासमेत सुरु भएको छैन । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डका अनुसार हालसम्म बस खरिद प्रक्रिया अगाडि नबढेकाले चालु आवमा बस सञ्चालन हुने स्थिति देखिन्न । बोर्डका कार्यकारी निर्देशक जगदीश ढुङ्गानाले बस खरिदका लागि आह्वान गरिएको बोलपत्र अनुमानित रकमभन्दा बढी कबोल भएपछि रद्द गर्नु परेको जानकारी दिनुभयो ।यसैगरी आवश्यक बस सञ्चालनका लागि पूर्वाधार नभएसम्म तत्काल बस खरिद नहुने बोर्डका पदाधिकारीहरुले बताएका छन् । अहिले सबै काम रोकिएको बताइएको छ । तत्कालीन प्रदेश सरकारले २०८५ सालभित्र प्रदेशका मुख्य सहरमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गर्ने लक्ष्य लिएको थियो । प्रदेशसभामा विभिन्न विरोध हुँदा पनि विद्युतीय बस खरिद योजनालाई तत्कालीन प्रदेश सरकारले चालु आवमै पास गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।