सबै खालका मुद्दामा तोकियो पेसी

काठमाडौँ, २८ कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन । यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै
ललितपुर, २८ कात्तिक । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो । देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ ।” सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं’ अर्थात कङ्काल र ‘ख्याक’ वा भूतको कथामा आधारित नाच प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

आठ दिन प्रदर्शन गरिने यस वर्षका नाचमा लगभग रु १३ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन कलाकार अनि स्वयंसेवक तथा वाद्यवादक र व्यवस्थापक गरी दैनिक ५० भन्दा बढी जनशक्ति प्रयोग भइरहेका छन् ।” सो नाट्य महोत्सव प्रदर्शन गर्दा जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाइने पाटन निवासी राजेश ताम्राकारले बताउनुभयो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँमा विशेषता बोकेको छ ।

यस गरिमायम नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको विश्वास छ ।विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ ।

सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा अनि कुम्भेश्वर मन्दिर परिसरको पश्चिमी पर्खालमा जोडिएको मिसाहिटी अर्थात् महिलाहरूले मात्रै प्रयोग गर्ने धारा तथा मिसाहिटीको पश्चिम २२९ वर्गमिटर फैलिएको कुम्भेश्वरहिटी, दरबारबाट लगनखेल सडकको बायाँतिर मीननाथ मन्दिर अगाडि मण्डलाकार पश्चिमाभिमुख प्राचीन टाँगःहिटी, च्यासलटोलमा प्रसिद्धि च्यासलहिटीले ललितपुरको शोभा बढाइरहेका सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका अलवा यहाँ च्यासलहिटीबाट दक्षिण सडकपार क्वलय्लछी टोलमा प्रसिद्ध नारायणहिटी रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा रहेको छ।”गत वर्ष महानगरपालिकाले दिएको रु ५० लाख र वडा नं १६ ले सहयोग गरेको रु १० लाख गरी यो वर्ष कूल रु ६० लाखको अक्षयकोष खडा गरिएको उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।