माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता
काठमाडौँ, २८ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो। अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उहाँलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ हुनु भएको थियो ।
समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ ः अर्थमन्त्री
काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने बताउनुभएको हो । “नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईहरूले के हो समाजवाद भनेर पढ्नुप¥यो, थाहा पाउनुप¥यो”, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीलाई भन्नुभयो, “समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।”
संविधानले निदृष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिनुभयो । उहाँले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराउनुभयो ।मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उहाँले बताउनुभयो ।
“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”, उहाँले भन्नुभयो, “हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।” मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि राजनीतिकर्मी, कर्मचारी र जनताले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने बताउनुभयो । आजदेखि सुरु भएको तालिम आगामी पुस ९ गतेसम्म चल्नेछ ।


