ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास

ललितपुर, २९ कात्तिक ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको छ । आज बिहान उहाँले मन्दिर पुनःनिर्माणको आरम्भ गर्नुभएको हो । तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ ।” मन्दिर गोर्खा भुकम्पले भत्काएको थियो । करिब ३८८ वर्ष पहिले पुनः निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “जीवन संस्कृतिसँग जोडिएको छ, पुनःनिर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।”कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उहाँले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।”पुनःनिर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उहाँले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन अपिल गर्नुभयो । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताउनुभयो । मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार मन्दिर पुनःनिर्माण गत भदौं ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा शुरु गरिएको बताउनुभयो ।

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसको राजनीतिमा
–नारायण अधिकारी।चितवन, २९ कात्तिक । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको थियो । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उहाँ उपसभापति पदको उम्मेदवार हुनुहुन्छ । सङ्घ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित हुनुभएको छ । सङ्घ रत्ननगरका पूर्वअध्यक्ष केशवनारायण श्रेष्ठ कांग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित हुनुभएको छ । राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ । जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन् । यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको राजनीतिक क्षेत्र चितवन हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका तीन पूर्वअध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै हुनुहुन्छ । सङ्घका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ । होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै हुनुहुन्छ । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्वअध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा हुनुहुन्छ ।

उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका दुई हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउनुहुन्छ । प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मीलगायतका छन् । यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उहाँको भनाइ छ । कांग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिको हुनुहुन्छ । उहाँ अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको छ । जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका दुवाडी, चुके, गौतम, श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउनुहुन्छ ।

चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउनुहुन्छ । सङ्घका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।” सङ्घका पूर्वअध्यक्ष गौतम व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “सधैँ चन्दा मागेर पार्टी चल्नुभएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन ।” पार्टीलाई आर्थिकरुपमा सवल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिका योद्धाको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको उहाँ बताउनुहुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।