चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख

काठमाडौँ, २९ कात्तिक । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताउनुभयो ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताउनुभयो । गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उहाँले भन्नुभयो, “अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।” विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।

चितवन महोत्सव पुस २५ देखि
चितवन, २९ कात्तिक । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो । हरेक दुई÷दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । यसअघि तीनवटै संस्था आयोजक हुने गर्दथे । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे ।

श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको जानकारी दिनुभयो । महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पु¥याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।