बन्दबाट जनजीवनमा प्रभाव
काठमाडौँ, ३० कात्तिक । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन । उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न काठमाडौँ छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट
चितवन, ३० कात्तिक । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गर्नुभएको भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राख्नुभएको थियो । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताउनुभएको दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
राजदूत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताउनुभयो । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागि पर्ने राजदूत मोहम्मदको भनाइ थियो । कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको राजदूत मोहम्मदलाई उद्धृृत गर्दै अधिकारीले बताउनुभयो । कतारमा पाँच लाख बढी नेपाली विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन् । महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदानप्रदानका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकीकरण गर्न थप सहयोग पुग्ने बताउनुभयो । राजदूत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभ लाग्दो विकास गरेको बताउनुभयो ।कतारका विकासका असल अभ्यास अनुसरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालका अनुसार राजदूत मोहम्मदसँगको भेटका क्रममा कतारको एक नगरसँग भरतपुर महानगरले भगिनी सम्बन्ध कायम गरी भरतपुर महानगरमा बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण पूरा गर्न सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।


