प्रदेशको नामकरण गर्न सर्वदलीय बैठक आह्वान
प्रदेश १ सरकारले प्रदेशको नामकरण गर्न दलहरूसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश सरकारले गठन गरेको स्वास्थ्य मन्त्री जयराम यादव नेतृत्वको समन्वय समितिले सर्वदलीय बैठकको आह्वान गरेको हो । सरकारले नामाकरणका लागि छलफल र समन्वय गर्न तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको थियो । समन्वय समितिको सक्रियतामा मुख्यमन्त्री राजेन्द्र राईसमेतको उपस्थितिमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरू र सरकारका मन्त्रीहरूको बैठक बसेर नामकरणका लागि प्रक्रिया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक बस्ने सहमति गरेको थियो । बैठकमा नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी रहेको खबर गोरखापत्रमा छापिएको छ ।
यो पनि पढ्नुहोस्.. कर्णाली । जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उहाँको भनाइ छ । “मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ”, प्रजिअ रिजालले भन्नुभयो, “स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।” सुर्खेतमा नौ स्थानीय तह छन् । तीमध्ये आठ स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । जसले स्थानीय तहको निर्वाचन तयारीदेखि सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतका १३८ स्थलमा २७६ मतदान केन्द्र थिए । जिल्ला निर्वाचन व्यवस्थापन समितिले यसपटक केन्द्र थपिन सक्ने सम्भावना रहेको जनाएको छ । यसपटक सुर्खेतमा २२ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालमा दुई लाख १८ हजार मतदाता थिए ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताउनुभयो । कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ । २०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको छ ।


