धनकुटामा एमाले बिरुद्द कांग्रेस सहित चार दलको चुनावी गठबन्धन (विज्ञप्ति सहित)
धनकुटा । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि धनकुटामा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरेका छन् । गठबन्धनमा आबद्ध दलहरुले आज धनकुटामा पत्रकार सम्मेलन गरि निर्वाचनका लागि संयूक्त कार्यक्रम बनाएर जाने बताएका हुन ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीय तह निर्वाचनका लागि संयूक्त गठबन्धन गर्न सहमत भएको नेपाली काँग्रेस धनकुटाका सभापती दिनेश राईले जानकारी दिए । २०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा धनकुटाका सातवटै स्थानीयतहका प्रमुख र उपप्रमुख सहित ६० मध्ये ४३ वटा वडामा एमालेका उम्मेदवार बिजयी भएका थिए ।
प्राय सबै दलमा भातृ तथा शुभेक्षुक संगठन साथै नेता कार्यकर्ताले समेत अन्य जिल्लामा चुनावी तालमेल नभए पनि धनकुटामा चुनावी तालमेल गर्न दलहरुलाई दवाव दिएका थिए ।
जारी विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा क्रियाशील चार दलबीच चुनावी गठबन्धन हुने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ :
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जननिर्वाचित संस्थाहरुलाई पारदर्शी, जनउत्तरदायी, र जिम्मेवार बनाउँदै राजनीतिक स्थायीत्वमार्फत समृद्ध समाज निर्माण गर्ने अहम् र नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसरलाई राष्ट्र र जनताको पक्षमा उपयोग गर्नुपर्ने ठाउँमा उल्टै २०७७ पौष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित संसद् विघटन गरेपश्चात उत्पन्न राजनीतिक परिस्थितिको सन्दर्भमा हामी सबैलाई सर्वविदितै छ ।
संसद् विघटन, पुनस्र्थापना फेरि विघटनको घटनाक्रमलाई सुक्ष्म विष्लेषण गर्दा तत्कालीन ओली सरकार लोकतान्त्रिक मुल्य, मान्यता र संविधानवादको आदर्शबाट च्यूत हुँदै स्वेच्छाचारी, निरंकुस र मुल्यहीन प्रणालीको पक्षपाती हुन पुगेको निष्कर्ष सहित लोकतान्त्रिक प्रणाली, विधिको शासन, कानुनी राज्यको सुनिश्चिततासहित पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कायम गर्नु वर्तमान सत्ता र राजनीतिक गठबन्धन निर्माण भएको पनि सर्वविदितै छ ।
राष्ट्रिय राजनीतिमा यस्ता विषम् दृष्यहरु देखिनुको साथै कतिपय स्थानीय सरकारहरु, प्रदेश सरकारहरु र संघीय सरकारका कामहरु, निर्णयहरु र तरिकाहरु अत्यन्तै अपारदर्शी, व्याप्त कमिसनयुक्त, विवादित, पक्षपाती र चरम भ्रष्टाचारजन्य रहेको समेत बितेको पाँच वर्षमा हामीले देखि÷भोगी आएकै छौं । यी सम्पूर्ण विकृतीहरुको विरुद्धमा जनउत्तरदायी राजनीतिक संस्थाहरुको निर्माण गर्न र सुशासनको प्रत्याभुति जनसमक्ष दिलाउन ठोस पहल गर्नु आजको दिनमा हरेक व्यक्ति, राजनीतिक दलहरुको मुख्य दायीत्व हुन गएको हामी सबैले हृदयंगम् गरेकै छौं । तसर्थ आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचन मार्फत् यी तमाम विसंगति, वेतिथी, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरुलाई धनकुटा जिल्लामा क्रियाशील तपशिल बमोजिमका राजनीतिक दलहरु परास्त गर्न चाहन्छ ।
त्यसका निमित्त उच्च राजनीतिक संस्कार सहित चुनावी सहकार्य मार्फत् सामुहिक मर्म, भावना र उदेश्यहरुलाई पूरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडी बढेको छ, सोही भावनालाई हृदयंगम् गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं ।
साथै गठबन्धनको यस अभियानलाई सहयोग पु¥याउन आम धनकुटेली न्यायप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक आह्वान गर्दै अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई समेत यस गठबन्धनमा आवद्ध हुन अपिल गर्दछौं ।



