प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले हर्षोल्लासका साथ सिरुवा पर्व मनाइँदै

झापा, २ वैशाख । प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ ।

नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन् । उनीहरूले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर मनाउने गरेका छन् ।

वैशाख १ गते उनीहरूले एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा पानी छ्यापाछ्याप गरेर मनाएका छन् । उनीहरूले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्नेलगायतका कार्यसमेत गरेका छन् ।

“सिरुवा पर्व हाम्रो समुदायको सबैभन्दा ठूलो पर्व हो”, राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य फूलमति राजवंशीले भन्नुभयो, “हामी प्रकृति पूजक हौँ, अनिवार्यरूपमा नयाँ कपडा फेरि हाम्रा विभिन्न स्थानमा स्थापना गरिएका ग्रामथानलगायतमा काली देवताको पूजा गर्ने मेला लगाउन आदि गरेर मनाउँछौँ ।”

उहाँले यो पर्वमा विवाह गरेर पराई घर पठाइएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा–मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ मनाउँदै आएको जानकारी दिनुभयो ।

सिरुवा पर्व प्रदेश नं १ का झापा, मोरड र सुनसरीमा विशेषरूपमा मनाइने गरिन्छ । नेपालबाहेक भारतको आसामको कोक्राझार, पश्चिम बङ्गाल, कोचबिहार, पानी ट्याङ्कीलगायतका क्षेत्रमा पनि तीन दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाका राजवंशी समुदायका मानिसले गौरादह, खजुरगाछी, शिवगञ्ज, मेचीनगरलगायतका स्थानमा भजनकीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायतका कार्यक्रम आयोजना गरेका छन् ।

उनीहरूले एकापसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् । भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा राजवंशी समुदायले एकअर्कामा हिलो दलेर यो पर्व मनाउँदै आएको किवंदन्ती छ । खासगरी दधिकाद भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एकअर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ ।

भोलि अर्थात् सिरुवा पर्वको अन्तिम दिन रङ सिरुवा पर्दछ । उनीहरूले एकापसमा रङ खल्दै आफ्ना अभिभावकलाई रङ लगाइदिँदै यो पर्वको अन्त्य गर्ने चलन रहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।