खोसियो धनकुटाका महिलाहरुको राजनैतिक अधिकार ! गठबन्धनबाट एक जना मात्र प्रमुख पदमा महिलाको उमेद्वारी
नारायण कुमार राई/धनकुटा,१३ बैसाख । एमाले बिरुद्ध गठबन्धनको भागबण्डाका कारण धनकुटामा महिलाहरुको राजनैतिक अधिकार खोसिएको छ ।
स्थानीय तहको निर्वाचन सम्बन्धि ऐनले हरेक दलले स्थानिय तहको प्रमुख वा उप–प्रमुख मध्ये १ पदमा महिला अनिबार्य मनोनयन गराउनु पर्ने ब्यबस्था छ ।
तर गठबन्धनलेको हकमा उक्त ऐन आकर्षित नहुँने र गठबन्धन भित्रका दलहरुले ईमान्दारीता नदेखाउँदा महिलाहरुको अधिकार खोसिएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा १ प्रमुख र २४ उप–प्रमुख सहित २५ वटा मुख्य पदमा उमेद्वार पाएका महिलाहरुले आसन्न निर्वाचनमा ११ वटा मात्र उप–प्रमुखको उमेद्वारी पाएकाछन् ।
उक्त निर्वाचनमा ७÷७ जना उप–पमुखमा एमाले र माओवादी केन्द्रबाट, १ प्रमुख र २ उप–प्रमुखमा कांग्रेसबाट, ३ जना उप–प्रमुख संघिय समाजवादी र ४ जना उप–प्रमुखमा राप्रपाबाट महिलाहरुले उमेद्वारी मनोनयन दर्ता गराएका थिए ।
आसन्न निर्वाचनका लागि एमालेबाट ७,गठबन्धनबाट १ मात्र गरी जम्मा ८ जना महिलाहरुले उप–प्रमुख पदका लागि उमेद्वारी मनोनयन पाएकोे जिल्ला निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ । बाँकी ३ उप–प्रमुख पदमा भने गठबन्धन बाहिरको राष्ट्रिय पजातन्त्र पाटीको तर्फबाट महिलाहरुले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट एक मात्र महिला उमेद्वारका रुपमा माओवादी केन्द्रको तर्फबाट छथर जोरपाटी गाउँपालिकामा गीता गुरुङ(खेवा) को उमेद्वारी रहेको छ । यद्यपी गठबन्धनबाट टिकट नपाएपछि ७ स्थानिय तहमा ७ जना महिलाहरुले १ प्रमुख र ६ उप–प्रमुख पदमा स्वत्रन्त्र र बाघी उमेद्वार मनोनयन गराएका छन् ।
गएको चुनावमा जिल्लाका सबै स्थानिय तहमा नेकपा एमालेले क्लिन स्वीप गरेका कारण ७ स्थानिय तहको उप–प्रमुखमा महिलाहरु पुगेका थिए ।



