साकेला उभौली मनाइयो

खोटाङ, २९ जेठ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो ।

किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए । साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेला उभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीयस्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्नेे चलन छ । साकेला उभौली चाडका अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्ने चलन छ ।

साकेला चाडको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिनुभयो । साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानवजातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गरिन्छ ।

साकेला चाड र साकेला सिलीको शुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु रहेका छन् ।

यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन् । साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”

साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् । माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैरकिराँत समुदायले समेत मनाउन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएकोजस्ता कृषिकार्य प्रदर्शन गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖