धनकुटाको हिलेमा सुरु भयो लाखे नाच

धनकुटा । धनकुटाको हिलेबजारमा आज देखि नेवारी समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ ।

हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिगुनेवा समाज हिलेले निकालेका हुन् । अन्यत्र गठेमंगलवाटै सुरु भएपनि हिलेमा नागपञ्चमीवाट लाखे सुरु गरिएको हो । स्थानीय युवाहरू संस्कृति र परम्परा अनुसार लाखे जात्रा सुरु गरिएको झिगु नेवा समाज धनकुटाका अध्यक्ष डिजेस साक्यले बताउनुभयो ।

लाखेनाच अर्थात विभिन्न नाम दिईएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ ।

यो समुदायमा एक वर्षभित्र दिवंगत आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिँगारी बजार परिक्रमा गर्ने गरिन्छ । उनीहरूलाई श्रद्धालुहरूले दुध, फलफुल, चिउरा, रोटी, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन चलिआएको छ । यसरी बजार परिक्रममा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ ।

‘गुरही’ पर्व मनाइँदै
कैलाली, १७ साउन (रासस): पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन् ।

यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ । थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भन्नुभयो, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहिआएको छ ।” यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उहाँले बताउनुभयो । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ ।

यो पर्व आज धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व मनाउनका लागि ठाउँ–ठाउँमा भव्य तयारी गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।