धनकुटा नगरको स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धि प्रारम्भिक छलफल
शर्मिला राई/धनकुटा,पौष २६ । धनकुटा नगरमा नयाँ शैक्षिक सत्रदेखी स्थानिय पाठ्यक्रम लागु गरी पठनपाठन गराउने लक्षका साथ धनकुटा नगरपालिकाको स्थानिय पाठ्क्रम निर्माण सम्बन्धि प्रारम्भिक छलफल तथा अन्तरक्रिया थालिएको छ ।
प्रविधिमैत्री शिक्षक समाज धनकुटा नगर समितिको आयोजनामा सोमवार स्थानिय पाठ्यक्रम निर्माणबारे प्रारम्भिक छलफल गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको छलफलमा स्थानिय पाठ्यक्रममा के-के विषय समेट्न सकिन्छ भन्नेबारे तयार गरिएका ९ वटा प्रश्नावलीमा सरोकारवालाहरुसँग छलफल गरिएको श्रीमान टंक माद्यमिक विद्यालयका प्रधानाध्यापक एवं पाठ्यक्रम निर्माण समितिका सदस्य नर वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज धनकुटा नगर समितिका ३ जना, जिल्लाबाट १ जना र सामुदायिक विद्यालयका प्रधानाध्यापक १ जना गरी जम्मा ५ सदस्यीय पाठ्यक्रम निर्माण समिति रहेको छ । समितिको संयोजकमा लक्ष्मी प्रसाद साप्कोटा रहनुभएको छ ।
पाठ्यक्रम निर्माणको जिम्मेवारी प्रविधिमैत्री शिक्षक समाज धनकुटा नगर कार्य समितिले लिएको सदस्य विश्वकर्माले बताउनुभयो । छलफल तथा अन्तरक्रियामा धनकुटा नगरका १० वटै वडाका वडाध्यक्ष,जिल्लाका पेशागत संघ संगठन, संस्कृती संरक्षण सँग सम्बन्धित संस्थाहरु,नगरका ९ वटा सामुदायिक विद्यालयका मावि तहका प्रधानाध्यापक स्वास्थ्य, शिक्षा,वातावरण,महिला तथा वालवालिकासँग सरोकार राख्ने व्यक्तीहरुको उपस्थिती थियो ।
नगरमा २०८० बाट कक्षा १ देखी ५ सम्म नयाँ स्थानिय पाठ्यक्रम निर्माण गरि लागु गर्ने लक्ष छ ।





