काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

धनकुटा, १३ माघ (रासस): सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आउनुभयो ।

रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आउनुभएको हो । विसं २०६३ मा उहाँ रोजगारका सिलसिलामा मलेसिया जानुभएको थियो । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गर्नुभयो ।

सो समयमा मासिक रु १८ हजार नेपाली तलबमा काम गर्नुभएका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किनुभयो । उहाँले भन्नुभयो, “विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुख्र्यौली पेसामा लागेँ ।”

पुख्र्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आउनुभएको छ । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाउनुभयो ।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गर्नुभयो । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक रु २० हजार पारिश्रामिक दिएर दुई सहयागीे र रु ५५ हजार पारिश्रमिक दिएर तीन कालिगढ राख्नुभएको छ ।

साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआउनुभएका रसाइलीले एउटा सामानको रु दुई सयदेखि रु २२ हजारसम्ममा बिक्री गर्दै आउनुभएको छ । वार्षिक रु २५ लाखदेखि रु ४० लाखसम्म कारोबार गरेर मासिक रु दुई लाख कमाइ गरिरहनुभएका रसाइलीले भन्नुभयो, “श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ ।”

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उहाँको सुझाव छ । कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडाँैलगायत क्षेत्रमा बेच्दै आउनुभएको छ ।

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिदैआउनुभएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

तस्बिर : नारायण कुमार राई,रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖