धनकुटा महोत्सवबाट करोडौँको व्यापार
धनकुटा । रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ ।
उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले आज समापन गर्नुभएको छ । आजसम्म चल्ने उक्त महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीडले किचेर ३० जना घाइते भएपछि महोत्सवको आज विधिवत् रूपमा समापन गरिएको हो ।
एक सय ८० स्टल रहेको महोत्सवमा रु सात करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।(रासस)
लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल
कर्णाली, १७ माघ (रासस)ः कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताउनुभयो । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उहाँले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाउनुभयो ।
उहाँले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको थियो । सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।
अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनुभयो । सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उहाँको भनाइ थियो ।
मन्त्री जिसीका अनुसार नेपालगञ्जमा रहेका प्रहरी कार्यालयलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ । उहाँसगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाउनुभयो ।


