साँगुरीगढी गाउँपालिका स्थित नाम्जेमा रहेको ग्रामिण जनता माबिले होटल सेवा दिने
नारायण कुमार राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित नाम्जेमा रहेको ग्रामिण जनता मा.बि.ले होटल म्यानेजमेन्ट पढाई संगै बिद्यालयमा होटल सेवा दिने भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा गएको साउनबाट कक्षा ११ बाट म्यानेजमेन्टको पढाई शुरु गरेको बिद्यालयले आउने आईतबारबाट होटल सेवा शुरु गर्ने बिद्यालयका प्राधानाध्यापक टंक भुजेलले जानकारी दिनुभयो ।
अमेरिकी टि.भी.च्यानल सि.एन.एन.ले बिश्वको घुम्नै पर्ने गन्त्ब्यको १२ सूचीमा राखेको पालिकाको वडा नं. ६ मा रहेको नाम्जे गाउँ मगर जातिहरुको आतिथ्यता,जीवन शेैली र घरबास सेवा (होमस्टे) ले प्रख्यात छ ।
भेडेटार देखि एक किलोमिटर पूर्व निर्माणाधिन भेडेटार–रवी–राँके राजमार्गमा रहेको यो स्थानमा दैनिक सयौ आन्तरिक तथा बाहिय पर्यटकहरु आउने गर्दछन् ।
चुरे पहाडमा अबस्थित भेडेटार र नाम्जेबाट हिमाल,पहाड र तराईको दृष्यावलोकन गर्न आउने यीनै पर्यटकहरुलाई सेवा दिन यस क्षेत्रमा दुई सयको हाराहारीमा साना–ठूला होटलहरु सञ्चालित छन् ।
यहि सम्भावनालाई आधार मानेर बिद्यालयले पढाईका साथमा होटल सञ्चालनमा ल्याउन लागेको प्राधाना ध्यापक भुजेलले जानकारी दिनुभयो ।
‘पढाई संगै रोजगार पनि दिने उदेश्यले होटल सञ्चालनमा ल्याउन लागिएको हो ।’ उहाँले भन्नुभयो ।
हाललाई आंसिक सेवा शुरु गर्न लागेको बिद्यालयले आउने चैत्रबाट २० जना सम्मलाई होमस्टे सरह सस्तो मूल्यमा चौबिसै घण्टा सेवा दिनेगरी होटल सञ्चालनमा ल्याउने भुजेलले जानकारी दिनुभयो ।
गाउँपालिका एक प्रमुख पर्यटकीय गन्तब्य क्षेत्र भएकाले यहाँका होटलहरुमा रोजगारीको सम्भावना देखेर बिद्यालयको म्यानेजमेन्ट पढाईमा सहयोग गरिएको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।
यहाँ उत्पादन भएका जनशक्तिलाई यसै क्षेत्रमा अबसर रहेकाले बिद्यालयको शैक्षिक अध्यापनका लागि आगामी बर्षहरुमा पनि पालिकाबाट आर्थिक सहयोगलाई निरन्तरता दिईने राईले जानकारी दिनुभयो ।


