सहिदभूमि गाउँपालिकामा वर्षेनी सुन्तला उत्पादन घट्दै
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकामा वर्षेनी सुन्तला उत्पादन घट्दै गएको छ ।
पालिकाको कृषी शाखाको तथ्यांक अनुसार यो वर्ष २ सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । यसअघि गएको वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष १ सय मेट्रिक टनले उत्पादन घटेको शाखाले जनाएको छ । उत्पादन घटेसँगै आम्दानी समेत घटेको छ ।
यस वर्ष पालिकामा सुन्तला उत्पादनबाट ३ करोड रुपयाँ आम्दानी भएको कृषी शाखा प्रमुख दिनेन्द्र राईले बताउनुभयो । किसानहरुले यो वर्ष होलसेलमा प्रति किलो १५० रुपयाँले सुन्तला विक्रि गरेका छन् ।
यस अघि २०७६/७७ मा पालिकामा ४ सय ५० मेट्रिकटन सुन्तला उत्पादनबाट ६ करोड ३० लाख र २०७७/७८ मा ४ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ५ करोड ६० लाख आर्थिक आम्दानी भएको थियो । गत वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ४ करोड २० लाख आर्थिक आम्दानी भएको थियो ।
एशियाकै गुलियो र रसिलो सुन्तला उत्पादन हुने गरेको यो गाउँपालिकामा पछिल्लो समय जलवायु परिवर्तनका कारण उत्पादनमा ह्रास आउन थालेको कृषी शाखा प्रमुख राईले वताउनुभएको छ । उहाँका अनुसार हाल त्यसक्षेत्रको सुन्तलाको वोट सुक्ने,फल झर्ने लगायगतका समस्याहरु देखिएका छन् ।
पालिकामा ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएकोमा हाल २ सय ५० देखी ३ सय हेक्टरमा क्षेत्रफलमा मात्र खेती गरिदै आएको छ । यो समस्या समाधानका लागि पालिकाले सुन्तला अनुसन्धान केन्द्र पारि पात्लेसँग समन्वय गरेर ल्याव परिक्षण गर्ने काम भईरहेको प्रमुख राईले जानकारी दिनुभएको छ ।
सुन्तला जातका फलफुलहरुमा पछिल्लो समय जलवायु परिवर्तनले व्याक्टेरियाको कारण सिट्रस रोग फैलिएर बगानमा ह्रास आएको कृषी विज्ञहरुको भनाई छ ।


