अब पार्टी सङ्गठनमा उथलपुथल हुन्छ : नेता शर्मा

भक्तपुर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सङ्गठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् ।

शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता शर्माले भने, ” मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।

कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।

तत्कालीन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए । उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दाबी गरेका छन् ।

वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अवैधानिक बाटो हिँड्नुपर्दैन, वैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।

शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरूले फैलाएका भ्रम र अफवाहहरूको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलीप प्रजापति भीष्म, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य डिपी ढकाल त्यसैगरी केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक प्रशिक्षण दिएको पार्टीका मध्यपुर थिमि नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताए ।

सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैँतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जितले जानकारी गराएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।