मन्त्रिमण्डल फेरि हेरफेर हुँदै
काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी बनाएर मन्त्रिमण्डल हेरफेरको तयारी गर्नुभएको छ ।
डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी साहलाई मन्त्री बनाउने तयारी भइरहेको छ । यसअघि असार २६ गते नै जनमत पार्टीले अनितादेवीको नाम सिफारिस गरेको छ । तर त्यसको भोलिपल्टै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि नियुक्ति रोकिएको थियो । दाहाल नेतृत्वको मन्त्रिमण्डल अहिले २५ सदस्यीय अर्थात् पूर्ण छ । जनमतलाई सरकारमा ल्याउँदा अरु कोहीलाई हटाउनुपर्ने प्रधानमन्त्रीलाई बाध्यता छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सूदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी हटाउने तयारी गर्नुभएको छ । उहाँहरुलाई हटाएर त्यसमा एक जना जनमतबाट थप्ने र माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई मन्त्री बनाउने प्रधानमन्त्रीको योजना छ ।
नुवाकोट १ बाट निर्वाचित तामाङ माओवादी केन्द्रमा सिनियर नेता मानिनु हुन्छ । तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बन्नुभएको थियो । उहाँ यसअघि युवा खेलकुदमन्त्री समेत भइसक्नु भएको छ ।


