सर्वोच्चमा भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट
काठमाण्डाै – सर्वोच्च अदालतले भाेलि साेमवारदेखि पेसी तारिखका लागि स्वचालित (अटाेमेसन) लागू गर्ने भएकाे छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न भाेलिदेखि याे प्रणाली शुरु गर्न लागेको जानकारी दिनुभएको हो ।
आज आइतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले अदालतभित्र हुने अनियमितता हुनै नदिन आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताउनुभयाे । उहाँले तारिख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले याे प्रणालीकाे शुरुवात गर्नुपरेको बताउनुभयो । प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको उहाँकाे भनाइ थियाे ।
सर्वोच्च अदालतपछि काठमाण्डाै जिल्ला अदालतमा तत्काल याे प्रणाली लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषदबाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गर्नुभयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दीअनुसार न्यायाधीशसमेत नहुँदा अप्ठेराे भइरहेकाे बताउनुभयाे ।
प्रधानन्यायाधीशले न्यायालयप्रति जनआस्था जगाउने गरी समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।


