सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

लुम्बिनी, २७ भदौ : लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिनुभयो ।

मातृ तथा शिशु स्वास्थ सेवातर्फ सीमित जनशक्तिका आधारमा गुणस्तरीय सेवा दिनुपरेको र हाल यस इकाइमा ७० जनाको जनशक्तिले सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा लिने अस्पताल भएको छ । सामान्य बिरामीसमेत अस्पतालमा उपचार सेवा लिन आउने हुँदा अस्पतालको जनशक्ति तथा साधन स्रोतले थेग्न कठिनाइ परेको उहाँले बताउनुभयो । बिरामीको घर नजिकैको स्वास्थ्य केन्द्रमा समेत बर्थिङ सेन्टरमा उपचार सेवा उपलब्ध हुँदाहँुदै पनि यसै अस्पतालमा आउने गर्दा सीमित जनशक्तिद्वारा सेवा दिनुपरेको छ ।

पर्याप्त जनशक्ति र साधन स्रोत अभावमा पनि अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र लागिपरेका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरीय बनाउन नवजात शिशु सघन उपचार (एनआइसीयू) विभागको आठ शय्यालाई विस्तार गरी १२ पुर्याउने र नवजात शिशु विशेष हेरचाह (एसएनसीयू) विभागलाई १३ शय्याको स्थापना गरी सेवा प्रदान गर्न थालिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पताल हो । दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीलाई सेवा दिन सक्ने यस अस्पतालको सामथ्र्य छ । तर यहाँ अस्पतालको क्षमताभन्दा पाँच गुना बढी बिरामी दैनिक सेवा लिन आउँछन् । दैनिक दुई हजार पाँच सयसम्म बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । अस्पतालले लुम्बिनी प्रदेशका १२ जिल्लासहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग विभाग र दन्त तथा छालाको लागि ओपिडी सेवा छन् । यसका साथै प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवा उपलब्ध छन् । नियमितरूपमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डट्स, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स) सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ ।

प्रसूति हुने महिलाको सङ्ख्या पनि सोही अनुपातमा छ । अस्पतालमा मातृ स्वास्थ्य सेवाका लागि मात्र वार्षिकरूपमा करिब ८० हजार सेवाग्राही आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९÷८० मा मातृ स्वास्थ्य सेवाका लागि आएका ५१ हजार तीन सय ९२ मध्ये १२ हजार दुई सय ७५ जनाले प्रसूति सेवा लिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या एक सय २५ छ । यो सङ्ख्या बिरामी चापको अनुपातमा थोरै भएको उहाँको भनाइ छ ।

परिवार कल्याण कार्यक्रमतर्फ अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसञ्चार, उत्प्रेरणा सेवा, निःशुल्क कार्यक्रमतर्फ सङ्घीय सरकारको सशर्त अनुदानतर्फ आव २०८९÷८० मा रु नौ करोड ६० लाख विनियोजन गरिएको अस्पतालका लेखापाल घनश्याम भुसालले जानकारी दिनुभयो । यस्तै चालु आव २०८०÷८१ का लागि सङ्घीय सरकारबाट अघिल्लो आवको कार्यक्रममा थप कार्यक्रम न्यानो झोला वितरण, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमसहित रु ११ करोड ८४ लाख विनियोजन गरिएको भुसालले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।