सुवास नेम्बाङका छोराहरुले नलेखेको भाइरल चिठी

२८ भदौ, काठमाडौं । आर्यघाटमा पिता सुवास नेम्बाङको अन्त्येष्टीमा मानव सागर उर्लिँदा छोराहरु मिङ्सो र सुहाङ नजिकैको एउटा कुनाबाट दृश्यहरु हेरिरहेका थिए ।

जेठा छोरा मिङ्सो बेलायतबाट आइपुग्नुअगावै सुहाङ आफ्नो अष्ट्रेलिया भ्रमण छोट्याएर काठमाडौं ओर्लिएका थिए । मिङ्सो केही वर्षयता बेलायत बस्दै आएका छन्, सुहाङ काठमाडौंमै कानुन व्यवसाय गर्छन् ।

संविधानसभा अध्यक्ष नेम्बाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा नेम्बाङका छोराले बाबुलाई लेखेको चिठी शीर्षकमा एउटा कन्टेन्ट भाइरल हुन थाल्यो ।

उक्त चिठी विदेशिएको छोराले स्वदेशमा अन्तिम सास फेरेको बाबुलाई लेखेको भावुक भाकामा पेश छ । त्यसमाथि कमेन्ट गर्दै धेरैले, ‘आफ्नै छोरा त स्वदेशमा टिकाउन नसक्नेले के राजनीति गर्नु’ भन्ने किसिमको प्रतिक्रिया दिएका छन् ।

मिङ्सो र सुहाङ दुवैले त्यस्तो कुनै चिठी नलेखिएको भन्दै खण्डन गरेका छन् । आफ्नो पिताले सधैं निष्ठाको राजनीतिमा जोड गरेको, प्रत्येक व्यक्ति आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको उनीहरुको भनाइ छ ।

‘यस्तो कुनै चिठी छैन, यस्तो खालको सस्तो प्रचारबाजी हुनुहुँदैन’, जेठा छोरा मिङ्सोले भने, ‘हामी यति बेला शोकमा छौं । कहाँबाट गलत कुराहरु आइरहेको छ ?’

कान्छा छोरा सुहाङले कसैको मृत्युलाई राजनीतिक उद्देश्य राखेर प्रचार गरिनु अनुचित हुने बताए । ‘बुवासँग मेरो भिडियो कल भएको थियो, सबै कुराहरु सामान्य ढंगले भएको थियो, अनपेक्षित घटना सुनेलगत्तै मैले दुई साताको भ्रमण छोट्याएँ’, सुहाङले भने, ‘गलत र भ्रामक कुराहरु प्रचार हुनु अनुचित छ । शोकको बेलामा यस्तो कुरा सुन्नु हामी परिवार र कसैको लागि पनि राम्रो होइन ।’

दुई छोरी र दुई छोराका पिता सुवास नेम्बाङको बिहीबार दिउँसो आर्यघाटमा अन्त्येष्टि भएको छ । उनको निधनमा सरकारले शोकबिदा दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।