गैरीगाउँ हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष

काठमाडौँ, १ असोज : काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाका विभत्स हत्या प्रकरण रिसिइबी र प्रतिशोधले भएको पाइएको हो । विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताउनुभयो ।

विगतमा हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकामा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको पनि उहाँले बताउनुभयो ।

उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो घटना

भण्डारीले गत भदौ २९ गते नै विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे । केही समयपछि विशाल राई आएर विवाद भई कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लत्पतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दाेष देखिएको राठौरले बताउनुभयो ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।