अठार स्वास्थ्य संस्था औषधि विहीन

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन् ।

असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुनसकेको छैन । सभाबाट बजेट पारित नहुँदा नगरभित्र रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा औषधि खरिद गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरी १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् ।

ती स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले औषधि नपाएर रित्तै हात फर्कनुपरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने औषधि पनि सेवाग्राहीले निजी क्लिनिकमा पुगेर महँगो मूल्यमा खरिद गर्ने गरेको कुश्मा नगरपालिका–१२ ठूली पोखरीका अहेब पठी धामीले बताउनुभयो ।

स्वास्थ्य संस्थाबाट २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ । उहाँले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आएपनि पठाउन नसकिएको बताउनुभयो ।

“नगरसभा नभएका कारण स्वास्थ्य मन्त्रालयले अनुदानमा पठाएको बजेटबाट औषधि खरिद गर्न पाइएको छैन । नगरसभा भएर पालिकाले दररेट स्वीकृति दिएपछि मात्रै खरिद प्रक्रिया अगाडि बढाउने हो”, शर्माले भन्नुभयो, “अहिले वर्षाको समय छ । गाउँमा भाइरल ज्वरो, आँखा पाक्नेलगायत रोग फैलिँदा औषधि दिन सकिएको छैन ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगरसभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी, स्वास्थ्य शिक्षा, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविकालगायत २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका छन् ।

स्वास्थ्य क्षेत्रमा केन्द्रबाट आउनुपर्ने अनुदान रकम तलबभत्ता बापतको रू चार करोड ५० लाख र स्वास्थ्य कार्यक्रमबापतको रू तीन करोड रकम आइसकेको उहाँले जानकारी दिनुभयो । रकम आइसके पनि नगरसभा हुन नसक्दा कुनै काम गर्न नसकिएको उहाँको भनँइ थियो ।

नगर स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ । ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्लीबाट दिने गरेको बताउनुभयो ।

आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई निःशुल्क दिइने औषधि पनि दिन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन ।

स्वास्थ्य क्षेत्र मात्र नभइ कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडाध्यक्ष तेजप्रसाद शर्माले बताउनुभयो । सुत्केरीले यातायात खर्चबापत पाउनुपर्ने रू दुई हजार पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।