भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

नारायण अधिकारी/चितवन, १० कात्तिक : सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए ।
टीकाका दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताउनुभयो ।

प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका उहाँको भनाइ थियो । काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलले जानकारी दिनुभयो। यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन् । यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन् । तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ । मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दसैँमा नियमित गरिएको बताउनुभयो । अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो । सुपरिटेन्डेन्ट प्रा डा पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दसैँमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए ।

अस्पतालमा कार्यरत चार सय नर्समध्ये तीन सयले दसैँको बेलामा समेत काम गरेका छन् । त्यस्तै सरसफाइ र सुरक्षाकर्मी एक सय ९५ मध्ये एक सय ३८ तथा दुई सय चिकित्सकमध्ये एक सयले काम गरेका थिए । दसैँको समयमा बहिरङ्ग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए । अस्पतालका बीमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार स्वास्थ्य बीमामार्फत् आकस्मिक सेवा लिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रहेको छ । उहाँले भन्नुभयो, “दसैँको टीकाको दिन पनि हामीले बीमामार्फत् आकस्मिक र अन्य सेवा सहजै उपलब्ध गरायौँ ।”

यो सङ्घीय अस्पताल हो । यहाँ छ सय शय्या सञ्चालनमा छ । सङ्घीय अस्पताल भए पनि एक सय ५० शय्या बराबरको जनशक्ति सरकारले उपलब्ध गराएको छ भने अन्य जनशक्ति अस्पताल विकास समितिले व्यवस्थापन गर्दै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार राजधानी बाहिरबाट पनि बहिरङ्ग सेवामा सबैभन्दा धेरै बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । धेरै बिरामी आउँदा दैनिक झण्डै तीन हजार हाराहारी बिरामी यहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम र विशिष्टीकृत सेवाका कारण अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । गत आवमा तीन लाख सात हजार एक सय २१ जनाले बहिरङ्ग सेवा लिएका थिए । तीमध्ये ३१ हजार एक सय ३७ जना भर्ना भएर उपचार गराएका उहाँले जानकारी दिनुभयो । अस्पतालको शय्या ‘अकुपेन्सी’ ८१ प्रतिशत रहेको छ । बीमा कार्यक्रममा यो अस्पताल देशकै उत्कृष्ट रहेको छ । गत वर्ष कूल बहिरङ्ग सेवामा आएका तीन लाख सात हजार एक सय २१ मध्ये दुई लाख २१ हजार तीन सय ३१ जना स्वास्थ्य बीमा गरेका बिरामी थिए । अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिरामी स्वास्थ्य बीमा गरेका हुने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।