दूधको मूल्य घट्दा किसान निराश

नारायणगढ (चितवन), ६ मङ्सिरः रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाल्नुभयो । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उहाँको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्नुहुन्छ, “गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।”

व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उहाँको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी घाँस लगाउनुभएका कृषक थापा सबै पशुपालक किसानले व्यवसाय गर्दा घाँस लाउन अनिवार्य रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गाईलाई घाँस नभइकन उत्पादन हुँदैन, दाना चोकर खुवाउनभन्दा घाँसमा आधारित रहनुपर्छ ।” रत्ननगर–१६ मा रहेको आफू आवद्घ भद्रकाली दूध उत्पादक सहकारीबाट सुपर नेपियर घाँसको कार्यक्रममार्फत अन्य किसानलाई पनि घाँस लगाउन प्रेरित गरेको उहाँको भनाइ छ । थापाको गोठ (फार्म)मा हाल होलस्टेन र जर्सी जातका गाई छन् । उहाँ दैनिक गोठमा खटेर काम गर्नाका साथै सहयोगी पनि राख्नुभएको छ । गाईलाई लाग्ने साधारण रोग तथा प्राविधिक समस्याको समाधानका लागि आफँै योग्य रहेको र थप जटिल समस्या तथा रोग लागेमा मात्र पशु प्राविधिक बोलाउने गरेको कृषक थापा बताउनुहुन्छ ।
भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत हुनुभएका उहाँले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ । थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्नुहुन्छ। दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको उहाँको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ ।
थापा भन्नुहुन्छ, “भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो ।” केही समय अघि मात्रै रु ७९ प्रतिलिटरमा बिक्री भएको दूध हाल रु ७० मा दिनुपरेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, “व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैरास्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।”

किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन । उत्पादनले मूल्य पाएमा यही जति पनि अवसर रहेको कृषक थापा
थापाको भनाइ छ । दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध बिक्री नहुँदा अलि अलमलमा पर्नुभएका उहाँ भन्नुहुन्छ, “मुख्य बजारमा लैजादा दूध खरिदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।