राज्यको नजरमा नपरेको दिक्तेल रुपाकोटको भरङ्गे

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन् ।

कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन् । “चुनावका बेला भोट माग्न उम्मेदवार त के ? नेतासमेत आउँदैन । यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइ आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्”, स्थानीय वीरबहादुर तामाङले भन्नुभयो, “एघार घरपरिवार बसोबास गरिएको हाम्रो गाउँ भरङ्गेको विकासमा अहिलेसम्म कसैले ध्यान दिएका छैनन् । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सकखण्डको हुर्लुङबाट जालपा जाने सडक हुँदै कच्ची शाखा सडकबाट भरङ्गे पुगिन्छ । भरङ्गेमा ठूलाठूला डिलमा हिँड्नका लागि भर्‍याङजस्तो खुड्किलो बनाइएका कारण पछिल्लो समय गाउँको नाम नै भरङ्गे रहन पुगेको स्थानीय बासिन्दाले बताएका छन् । साबिकको दिक्तेल गाविस–६ मुडेमा समेटिएको भरङ्गे हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माभित्र पर्छ तर भरङ्गेलाई पूर्वाधार विकासले छुन सकेको छैन । विकासमा पछिपरेको भरङ्गेमा ११ घर तामाङ समुदाय बसोबास गर्छन् ।

सोल्मास्थित वडा कार्यालय पुग्न उनीहरुलाई कम्तीमा पनि पैदल दुई घण्टा हिँड्नुपर्छ । भरङ्गेवासीले आफ्नै खर्चमा दुःखसुख आठ÷नौ वर्षअघि विद्युत् पु¥याएका छन् । विसं २०७९ मा वडा कार्यालय सोल्माले विनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको स्थानीय बासिन्दाले बताएका छन् । भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ ।

लङ्खुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नापजाँच भएको बताइएको छ । भरङ्गेमा एक दशकअघि जनसेवा समाज नेपाल जालपाबाट खानेपानी योजना सञ्चालन गरिएको थियो । हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गेमा पुनः नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको छ । शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका भरङ्गेवासीका लागि अहिलेसम्म कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन ।

आधारभूत तहकै पढाइका लागि भरङ्गेका छात्रछात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राविमा पुग्छन् । जनकल्याण प्राविबाट कक्षा ३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आवि निगाले पुग्छन् । आर्थिक अवस्था मजबुद हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन् । हाल जनकल्याण प्राविमा भरङ्गेका सातजना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक तीर्थ तामाङले बताउनुभयो । मावली घर भरङ्गे बस्दै आएका विवेक गुरुङ र सुविन तामाङ कक्षा १ मा, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, सुष्मा तामाङ, सुमिना तामाङ र समीक्षा तामाङ कक्षा ३ मा पढ्छन् । भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा समय लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भरङ्गेका बालबालिका नियमित स्कुल जाँदैनन् । घरैमा गएर सम्झाई–बुझाई गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न नसकिएको शिक्षकहरु बताउँछन् । सिद्धेश्वरी आधारभूत विद्यालय निगालेमा भरङ्गेका चारजना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशील तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा अध्ययनरत छन् । उनीहरुलाई भरङ्गेबाट निगाले आइपुग्न डेढ घण्टा समय लाग्ने गरेको प्रधानाध्यापक बिन्दा थापा बताउनुभयो ।

यस्तै, सिद्धेश्वरी आधारभूत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र सङ्कल्प राई कक्षा ७ मा, प्रदीप राई कक्षा ६ मा, समीक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।