भेडेटारमा भारतीय पर्यटकको घुँइचो

धनकुटा, १६ पुस : भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृष्य हेर्न औधी मनपर्छ ।

भेडेटारमा आयोजित ११आँै खाना महोत्सवका अवसरमा आउनुभएका रायले अर्को वर्ष पनि छुट्टी मनाउन यहीँ आउने बताउनुभयो । उहाँ मात्र होइन अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको विहारलगायतका स्थानबाट हजाराँैको सङ्ख्यामा भारतीय पर्यटक भेडेटार आएका छन् । चुरेक्षेत्रको धनकुटा र सुनसरीको सिमानामा अवस्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार बाह्रै महिना चिसो मौसमले परिचित छ ।

होटल सङ्घ भेडेटारले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर खानपान महोत्सव गर्दै आएको छ । यसपटक सङ्घले पुस १५ गतेदेखि १७ गतेसम्मका लागि ११आँै महोत्सव आयोजना गरिरहेको छ ।

भारतीय पर्यटकहरु निजी सवारीमा साथीभाइ र परिवारका साथ भेडेटार घुम्न आउने गरेका छन् । साथीहरु सिफारिसमा अन्य चार जना साथीसँग पहिलो पटक भेडेटार आउनुभएका विहारका सन्तोष रजकले आफूलाई भेडेटारले आकर्षित गरेको सुनाउनुभयो । यहाँ हुने महोत्सव, प्राकृतिक वातावरण र यहाँको सेवा सत्कारको बयान सुनेर आफू पनि भेडेटार आएको उहाँको भनाइ थियो ।

त्यस्तै भारतको सुपोल जिल्ला विहारका अमृतकुमार पनि आफ्ना चार साथीसँग तेस्रो पटक भेडेटार आउनुभएको छ । उहाँले पनि यहाँको वातावरण मन परेका कारण आफू पुनः छुट्टी मनाउन आएको जानकारी दिनुभयो ।

अहिले नयाँ वर्षमा घुम्न आउने भारतीय पर्यटकले भेडेटार आसपासका पर्यटकीय गन्तव्य र होटल भरिभराउ छन् । विशेष गरेर भेडेटार बजार आसपासका पर्यटकीय गन्तव्य नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, पाथीभरा मन्दिरलगायत स्थानमा भारतीय पर्यटकको बाक्लो उपस्थित छ ।

भारतीय पर्यटकको अत्यधिक भीडका कारण यहाँ सञ्चालित करिब दुई सय होटलले बास सेवा दिन कठिन भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताउनुभयो । “राति १० बजेसम्म खटिएर पर्यटकलाई बास मिलायौँ”, राईले भन्नुभयो, “केही भारतीय पर्यटक धरानतिर फर्किन बाध्य भए ।

हाल भेडेटारबाट नाम्जेको मगरगाउँसम्म जाने सडक कच्च भएकाले समस्या भएको उहाँको भनाइ छ । यो समय तराईमा हुस्सु लागेर घाम नलाग्ने तर भेडेटारमा मौसम खुलेर घाम लाग्ने गर्छ । ‘घाम ताप्न जाउँ’ भन्ने सन्देश दिनका लागि भेडेटारमा आयोजित खाना महोत्सवका कारण अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड लागेको राईको अनुभव छ ।

महोत्सवका माध्यमबाट यहाँको प्रचारप्रसार भएकाले भारतीय पर्यटकको सङ्ख्या बढेको होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका राईले बताउनुभयो । नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको सङ्ख्या यो पटक थप बढेकाले उनीहरुलाई राख्न कठिन भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले उल्लेख गर्नुभयो । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी साना सवारी लिएर आएका भारतीय पर्यटकको सङ्ख्या यो पटक दोब्बर भएको उहाँको भनाइ छ ।

विगत १४ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अध्यक्ष लिम्बूले भन्नुभयो, “भिडभाडले गर्दा हामीले उनीहरुलाई राख्नै भ्याएनौँ । सबैभन्दा बढी बिहारबाट पर्यटक आएका छन् । दरभङ्गा, सिक्किमलगायत स्थानबाट भेडेटार आउनेको सङ्ख्या राम्रो छ ।” भेडेटार घुम्न जाडोको समयमा दैनिक औसत दुई हजार र गर्मीमा सात हजारसम्म पूर्वी तराई र भारतबाट पर्यटक आउने गरेको होटल सङ्घ भेडेटारको तथ्याङ्क छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।