इलामका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा उपचारको रकम तिर्न नसक्दा अस्पतालमै

इलाम, १८ पुसः इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, “महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको छ ।” गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौँलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताउनुभएको छ । “उपचारमा त्यहाँ रु सात लाख १५ हजार खर्च भएको थियो,” गोपालले भन्नुभयोे, “तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।”

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उहाँले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको बताउनुभयो । अस्पतालले बारम्बार फोन गरिरहेको छ,” उहाँले भन्नुहुन्छ, “ठूलोबुबालाई भारतीय ‘हाइकोर्ट’को आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।” थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।

ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । “दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो”, उहाँले भन्नुभयो, “शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको जानकारी दिनुभयो ।

दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताउनुभएको छ । “विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,” उहाँले भन्नुभयो, “अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।”

इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उहाँ २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घसंस्थाको पहलमा उहाँलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो । उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।