युएई लागे दीपेन्द्र
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए । जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ ।
गल्फ जायन्ट्सले लिग चरणको अन्तिम खेल शनिवार खेल्दैछ । उक्त खेलमा दीपेन्द्र उपलब्ध हुनेछन् । त्यसपछि आउँदो मङ्गलवारदेखि प्ले अफका खेलहरू सुरु हुन्छन् । यूएईमा खेल्न जाने भएकाले नै दीपेन्द्रलाई क्यानडाविरुद्धको सिरिजमा टोलीमा राखिएको थिएन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजमा भने उनी समेटिएका छन् ।
क्यानाडासँगको सिरिज सकिएपछि नेपालले घरेलु भूमिमा लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्डविरुद्ध सिरिज खेल्नेछ । उक्त सिरिजमा एक टिमले ४ खेल खेल्नेछन् । सिरिज फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १५ र दोस्रो खेल नेदरल्यान्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रो खेल फेब्रुअरी २१ मा नामिबिया र फेब्रुअरी २५ मा नेदरल्यान्डको सामना गर्नेछ ।
दीपेन्द्र सहभागी आइएल टी–२० को प्ले अफका खेलहरू फेब्रुअरी १३ देखि सुरु हुनेछन् भने फाइनल खेल फेब्रुअरी १७ मा हुनेछ । दीपेन्द्र सम्मिलित टिम गल्फ जायन्टस प्ले अफबाट अगाडि बढेको खण्डमा दीपेन्द्रले सुरुवातका दुई खेल गुमाउने देखिन्छ । खेल एकै समयमा भएको खण्डमा आइएल टी–२० छोडेर आउँछन् कि लिग २ का दुई खेलमा अनुपस्थित रहन्छन् भन्नेबारे नेपाल क्रिकेट संघले कुनै निर्णय सार्वजनिक गरेको छैन ।


