पाख्रीबासमा ४३ जना जेष्ठ नागरिकहरुको कृत्रिम दाँत जडान
धनकुटा । पाख्रीबास नगरपालिका धनकुटाका पूर्ण तथा आंशिक रुपमा दाँत नभएका जेष्ठ नागरिकहरुको आज कृत्रीम दाँत जडान गरिएको छ । पाख्रीवास नगरपालिकाद्धारा आयोजित जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको बीच नगरका १० वटै वडाका ४३ जना जेष्ठ नागरिकहरुको कृत्रीम दाँत जडान गरिएको हो ।
पूर्वाञ्चल डेण्टल हस्पिटल ईटहरीको सहकार्यमा गएको माघ २८ गते पहिलो चरणमा नापजाँच गरि लगिएका उल्लेखित संख्याका जेष्ठ नागरिकहरुको कृत्रीम दाँत जडान गरिएको नगर प्रमुख ज्ञान बहादुर गुरुङको सचिवालयले जनाएको छ ।
कार्यक्रममा पूर्वाञ्चल डेण्टल हस्पिटल प्राÞ.लि ईटहरी सुनसरीका ४ जना दन्त चिकित्सकको टोलिले सेवा दिएका थिए । नगर प्रमुख गुरुङ सहित ३ नं वडाध्यक्ष सरोज राई, ८ नं वडाध्यक्ष गजेन्द्र राई र दन्त चिकित्सक केशव रिमालले ७४ वर्षका जेष्ठ नागरिक दूर्गा बहादुर भण्डारीलाई दाँत जडान गरिदिदै कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रम उद्घाटन पछि जेष्ठ नागरिकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले यो कार्यक्रमलाई वडा तहसम्म पुर्याउने लक्ष रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको सेवाका लागि नगरले यो कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रमको बारेमा ३ नं वडाध्यक्ष राईले जानकारी गराउनु भएको थियो । दाँत जडान गरेपछि आफुलाई निक्कै खुशी लागेको पाख्रीवास ५ घोर्लिखर्कका जेष्ठ नागरिक रुक बहादुर राईले बताउनुभयो ।


