पाख्रीवास नगरपालिकामा फागुन २९ देखि चैत ३ गते सम्म दादुरा रुवेला रोग विरुद्धको खोप लगाईने
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका ९ महिना देखि ५ वर्ष मूनिका वालवालिकाहरुलाई यही फागुन २९ देखि चैत ३ गते सम्म दादुरा रुवेला रोग विरुद्धको खोप लगाईने भएको छ । नगरको स्वास्थ्य शाखाले आज अभिमुखीकरण कार्यक्रमको आयोजना गरि उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई फागुन २९ देखी चैत ३ गते सम्म दादुरा रुवेला विरुद्धको खोप लगाईनेबारे जानकारी गराएको हो ।
राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गत नगरको सम्पूर्ण वडाका साविक २३ र थप २१ ग्रि जम्मा ४४ खोप केन्द्र मार्फत नगर भरिका १ हजार ६ सय २८ वालवालिकाहरुलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखाले जनाएको छ । जसका लागि प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी सहित २ जना स्वयम्सेवक खटाईने पाख्रीवास आधारभुत अस्पतालका डा अंकित शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा पाख्रीवास आधारभुत अस्पतालका डा शर्मा र स्वास्थ्य शाखाका सि अनमी ईशा राईले दादुरा रुवेलाको समस्या कसरी हुन्छ ? यसका लक्षणहरु के-के हुन ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दिईएको जानकारी अनुसार यो रोग लाग्दा उच्च ज्वरो आउने, नाकबाट पानी बग्ने,शरिरमा रातो विविरा आउने, घाँटी दुख्ने लगायका लक्षणहरु देखिने गर्दछ । यो रोगको किटाणु संक्रमित व्यक्तीको थुक, खकारबाट सर्ने गर्दछ । स्वासप्रस्वासको माध्यमबाट यो रोगको किटाणु अर्को व्यक्तीमा सर्ने हुन्छ ।
पाख्रीवास नगरपालिका नगर प्रमुख तथा दादुरा रुवेला खोप अभियान पालिका समन्वय समिती संयोजक ज्ञान बहादुर गुरुङको अध्यक्ष्तामा सञ्चालित कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा समितीका सहसंयोजक नम्रता गौतमले खोप अभियानलाई सफल पार्न सबैले लागिपर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा दादुरा रुवेला खोप अभियान पालिका समन्वय समितीका सदस्य एवम् १० वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य स्वयमसेविका, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती थियो । सन् २०२३ मै दादुरा रुवेला रोग उन्मुलन गर्ने लक्ष राखिएको भएपनि अझै देशभरका १४ सय बढी वालवालिकाहरुमा यसको प्रभाव देखिएपछि पुन खोप अभियान सञ्चालन गर्न लागिएको कार्यक्रममा जानकारी ईएको छ । अब सन् २०२६ सम्ममा यो रोगको उन्मुलन गर्ने सरकारको लक्ष छ ।


