युकेमा अध्ययन गर्न आएकी विद्यार्थी सरिना घलेले जितिन स्वर्णपदक
लण्डन । गत ९ फेब्रुवरी २०२५ का दिन युकेमा अध्ययन गर्न आएकी विद्यार्थी एक छात्र विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक जितेकी छिन् ।
नुवाकोटको किस्पाङ–१ भाल्चेकी सरिना रानी घलेले अन्तर्राष्ट्रिय स्तरको डब्लूएमएसी इंग्लिस ओपन मार्सल आट्र्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपाललाई गौरवान्वित बनाएकी हुन्।
इंग्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टर मा भएको उक्त प्रतिष्ठित प्रतियोगिताको ट्रेडिसनल वेप्पन फम्स विधामा उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण जितेकी हुन्। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार तेस्रो डान सरिनाले ९.१ अंक प्राप्त गर्दै स्वर्ण जितिन्, जबकि इंग्ल्यान्डकी एमिली जेन दोस्रो स्थानमा रहिन्।
करीब ८ सय खेलाडीको सहभागिता रहेको यस प्रतियोगितामा उत्कृष्ट कौशल प्रस्तुत गर्दै सरिनाले आफ्नो अन्तर्राष्ट्रिय डेब्यु प्रतियोगितामै स्वर्ण जित्ने ऐतिहासिक सफलता हासिल गरेकी हुन्।
उनले एक वर्षदेखि बेलायतमा रहँदै आफ्नो प्रशिक्षणलाई निरन्तरता दिएकी थिइन्। आफ्नो अथक परिश्रम, समर्पण, र अद्भुत प्रतिभाका कारण उनले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा चिनाउन सफल भएकी छिन्।


