रारा गोल्डकप :तेस्रो खेलमा विर्तामोड युनाइटेड विजयी
ईश्वर थापा/धनकुटा, ३१ बैशाख । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा झापाको विर्तामोड युनाइटेड क्लब विजयी भएको छ ।
रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश फुटबल क्लबलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड विजयी भएको हो ।
धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीको पुण्य माविको खेलमैदानमा भएको प्रतियोगिताको बुधबार सम्पन्न खेलमा दुबै टीमबाट कुनै गोल नभएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा विर्तामोडका आशिष चापागाईं र विक्रम तामाङले गोल गर्नुभयो भने सलहेशका आदित्य शाक्यले गोल गर्नुभयो।
ट्राइबेकरमा बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी बन्न सफल भएको हो।खेलको म्यान अफ द म्याच विर्तामोडको गोलकिपर अभिषेक बराल घोषित हुनुभयो । उहाँले नगद ७ हजार ५ सय पुरस्कार पाउनुभएको छ ।
११ औ संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यसपटक त्यो हारको बदला लिँदै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।प्रतियोगिता अन्तरगत खेल बिहीबार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ र सिराहा र बागमती युथ क्लब सर्लाही बीच हुने आयोजकले जनाएको छ ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधाका सर्वोत्कृष्ट खेलाडीले जनही १० हजार नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो।


