झापामा १९ वर्षीय एकजना किशोरको शंकास्पद मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय किशोर रोमन थापाको मृत्यु शंकास्पद देखिएपछि परिवारले आक्रमणको आशंका गरेका छन्। यही कारण उनको अन्त्येष्टि हालसम्म गरिएको छैन।
असार १४ गते बिहान बिरामी परेका रोमनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको थियो। सोही दिन शव घर ल्याइएको भए पनि भोलिपल्ट अन्त्येष्टि गर्न लाग्दा उनलाई केही दिनअघि अपरिचित व्यक्तिसँग झगडा भएको र सो क्रममा कुटपिट भएको हुनसक्ने खबर प्राप्त भएपछि परिवारले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको हो।
सुरुमा शव प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो तर त्यहाँ पोस्टमार्टम सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कोहीविरुद्ध उजुरी परेको छैन तर उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइनेछ। पोस्टमार्टम रिपोर्ट नआएसम्म परिवारले अन्त्येष्टि नगर्ने जनाएको छ।
घटनाको समयमा रोमनसँगै रहेका अर्का किशोर आदित्य तामाङ गम्भीर अवस्थामा छन् र हाल बिएन्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनीहरू मिल्ने साथी हुन् र गाउँकै खेतछेउमा नियमित रूपमा फुटबल खेल्ने गर्थे। वर्षाका कारण खेल मैदान प्रयोग गर्न नसकिएपछि अन्यत्र खेल्न गएका उनीहरू दुबैजनामा समान लक्षण देखिएको र तामाङ अर्धचेत अवस्थामा रहेको हुँदा घटनालाई थप गम्भीर रूपमा लिइएको छ।


