मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ
विराटनगर । हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट बुधबार बिहान २ जना पक्राउ परेका छन् ।
प्रहरीले पेस्तोल पनि बरामद गरेको छ ।
जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
बरामद भएको हतियार लुकाएर राखेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।


