झापाको दमक स्थित सेवारो होटलमा आगलागी
झापा । झापाको दमक नगरपालिका–६ मा रहेको सेवारो होटलमा आज साउन १ गते दिउँसो करिब १२:०० बजे आगलागी भएको छ।
दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिई टिनको छानो र टिनको पर्खालले बनाएको कच्ची घरमा सञ्चालन गर्दै आएको सेवारो होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई सिलिण्डर विस्फोट भएको थियो।
विस्फोटपछि होटलमा भीषण आगलागी भएको थियो।होटलभित्र रहेको लत्ता कपडा, खाद्य सामग्री, फ्रिज ३ थान, ग्याँस सिलिण्डर ८ थान, इन्भर्टर २ थान लगायत सबै सामग्री जलेर नष्ट भएका छन्। सम्पूर्ण घर पूर्णरूपमा जलेर करिब १३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
त्यसैगरी, सोही स्थानमा रहेको ज्ञानु रिजालको दुईतले पक्की घरमा समेत आगोको असर पुगेको छ। घरको पछाडिको झ्यालका ७ वटा सिसा फुटेका छन् भने भित्रको लत्ता कपडा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।


