सामान्यत: कस्तो हुनुपर्छ पाख्रिबास ?
ध्रुव एलेक्स । आज कस्तो हुनुपर्छ पाख्रिबास अथवा पाख्रिबासका सपनाहरु कस्ता हुनुपर्छ भन्ने सन्दर्भहरुमा सङ्क्षिप्तमा केही पृथक दृष्टिकोणहरु यहाँहरु समक्ष बाड्न लागिरहेको छु । हुनत भनेर के हुन्छ , लेखेर के हुन्छ नगरेपछि भन्ने मान्यता स्थापित भइरहेको समयमा मेरो मान्यता गलत सावित हुनेछैन भन्ने तात्पर्यका साथ लेख्दैछु किनकि योजनाहरु बनाइएन भने , दृष्टिकोणहरु निर्माण गरिएन भने हामी कुइरोमा हराएको काग हुनेछौ अथवा योजना नबनाई हिड्यौ भने हामी बाटो न घाटो दौडिन्छ लाटो जस्तै हुनेछौ तसर्थ गन्तव्य निर्धारण गर्ने हो भने आवधिक या दुरगामी लक्ष्यहरु लिनै पर्छ भन्ने हामीले बुझ्नैपर्छ । यसअर्थमा कुनैपनि नेतृत्व या योजनाकार सफल हुन्छ भन्नेमा दोमन छैन ।

पाख्रिवास भनेपछि मेरो मनमा धेरैवटा ( उ ) हरुको सङ्ग्रह बन्छ जस्तै उर्वरता , उत्पादनशील , उर्जा , उत्साहउमङ्ग , उत्सवमय , उन्नयन , उराठहीन , उच्च , उल्लासमय , उत्कृष्ट , उध्धन, उन्नति , उन्मुक्ति , उपयोगी ,उपहार र उज्यालो । यो परिचय मैले करिब १८०० मि. उचाइको लामेआलडाडाबाट हेरेर देखेको हुँ , सुन्तलेनागीको चुचुरोबाट हेरेर देखेको हुँ या सुर्य बहादुर थापाको घर नजिकैको सल्लोघारीको सल्लाको सुसेलीहरुबाट सुनेको हुँ । यो परिचय यहाँका करिब १७,००० मान्छेले पत्याएको परिचय हो । पाख्रिबासका चार किल्लाहरुले स्वीकार गरेको बत्तिस लक्षिणले उपर्युक्त हाम्रो गाउँको उपयुक्तता पनि त ( उ ) ले बनेको छ ।
अब पाख्रिबास कस्तो हुनुपर्छ भन्ने मनोविज्ञानको सन्दर्भमा ( स ) हरुको सङ्ग्रहलाई मात्र ध्यान दिएपनि पाख्रिबासको केही सपना साकार हुनेछ जस्तै सर्वोच्च , सरल , सक्षम,सहकार्यता , सम्मानित , सर्वमान्य , ससक्त ,सम्पन्न , समतामुलक , सभ्य , सत्य , सन्तुलित ,, सङ्घर्षशील , सचेत , सफल , समावेशी र सम्वृद्दशाली हुनुपर्छ । मुख्यतया पाख्रिवास कस्तो हुनुपर्छ भन्दा सच्चरित्रवान हुनुपर्छ जुन शक्तिशाली ( स ) छ त्यसको पूर्ण सम्पूर्णता समाजवादी हुनुपर्छ ।
अब समाजवादी कसरी हुने भनेर अलिकति हेरौं –
देशको संघीय राजधानी काठमाडौंबाट करिब ४३५ कि. मि को पुर्वी पहाड धनकुटा हो भने त्यसकै ७ स्थानीय तहमध्यको एक स्थानीय तह हो पाख्रिबास नगरपालिका । अब हामीले के बुझ्यौ भने सिहंदरबार देखि अधिकारहरु प्रत्यायोजन गर्दै पाख्रिबास नगरपालिकासम्म आइपुग्दा पाख्रिबासमै सानो सरकार छ जस्ले त्यस भुगोलको प्रत्यक्ष सरोकारहरु जनसमक्षसम्म प्रत्याभूत गराउछ । समाजका सम्पूर्ण संयन्त्रहरु समाजकै अधीनमा रहने व्यवस्था समाजवादी ब्यवस्थामा हुन्छ ।पुँजीको नियन्त्रण समाजले गर्दछ ।
यहाँ समाज भनेको स्थानीय सरकार भनेर बुझौं ।अब केही उदाहरणहरु पढौं । कृषि र कृषि आधुनिकीकरणका भाषण खुब गरिन्छन् तर त्यसका आधारहरु कहिल्यै भनिन्दैनन् । यो नोलेजको अभाव हो । यसका आधारहरु नबनाई कसरी एग्रिकल्चरको आधुनिकीकरण गर्ने ? जस्तो पाख्रिबासको फेदी बैखुन्ठे र घामेको माटोमा बदाम अत्याधिक उत्पादन हुन्छ । सानो सरकार भनेको खर्च गर्ने सरकार मात्र होइन आम्दानी गर्ने संयन्त्र पनि हो । त्यस बेल्ट देखि यता काभ्रे , अगराखे हुँदै चुङमाङको तल्लो भुगोल जो यतिकै लडिरहेको छ त्यहाँ नगरले श्रमशक्ति प्रयोग गरेर आप , लिचि , केरा , नरिवल , अनार , अम्बक , रुद्राक्ष , कटहर , फडिर जस्ता उपयोगी फलफुलहरु उत्पादन गर्न सक्छ र तत्सँग सम्बन्धित साना उद्योगहरु निर्माण गरेर नयाँ – नयाँ तयारीका सामाग्रीहरु बनाउन सकिन्छ । यस्को व्यवस्थापन सानो सरकारले नै गर्नेछ । यहाँ व्यवस्थापन भन्नाले २,४ दिन श्रमशक्ति जुटाउने , काम लगाउने सामाजिक सन्जालमा लगाउने मात्र होइन बरु सिचाइको प्रबन्ध , संरक्षण लगायत यावत पक्षलाई मध्यनजर गर्दै फलहरु फलाउने औद्योगीकरण मार्फत तिनिहरुलाई वहुपक्षसंग जोडेर अनेक वस्तुहरु तयार गर्न सकिन्छ ।
मुगाको माटोले कफी उत्पादन गर्न तयार छ । यो मैले भनेको होइन माटोको परीक्षण गर्ने विज्ञहरुले भनेका हुन । कफी उत्पादन गर्ने , प्रशोधन केन्द्रहरु बनाउने हो भने आयको दायरा फराकिलो हुनेछ । पाख्रिबास कफीको पकेट क्षेत्र हुनेछ यति यहाँ गैरराजनीतिक कन्सेप्टबाट कार्य प्रारम्भ र सम्पन्न गर्ने हो भने । बजार क्षेत्रका आसपास र फलाटेको माथिल्लो बेल्ट चियाका लागि उपर्युक्त छ । चिया प्रशोधित हुँदै गरेको देखिनु सुखद छ । खाली जग्गाहरु लिजमा लिएर यसको विस्तार गरेर हामीले यसको गुडविल र अर्थव्यवस्थाको जिम्मा लिन सुरु गर्न सकिन्छ। केही गरे केही हुन्छ केही नगरे त हिस्स बुढी खिस्स दाँत ।
चुङमाङको तल्लो बेल्ट , सान्नेको तल्लो बेल्ट , घोर्लीखर्कको केही भागहरुमा मानो मुरी फल्ने खेतहरु धान नफलाई हासिरहेका छन् । युवाशक्ति पलायन छ । भएका श्रमशक्ति श्रम गर्न उत्सुक देखिदैन किनकि उसले सुनेको छ वैदेशिक रोजगारीमा आयआर्जनको पाटो त्यसैले उसका नौ नाडी गलिहाल्छन । यसमाने म भनिरहेको छु सानो सरकारले धान फलावस , कोदो फलावस , मकै फलावस यहाँ सानो सरकारले रोजगार आवह्वान गर्नुभने रोजगारी आवेदन दिनेको सङ्ख्या थामिनसक्नु हुन्छ । हामीले सारमा एउटै कुरा भनिरहेका छौ कि खाली जग्गाहरु लिजमा लिएर नगरले बृहत् उत्पादनमा जोडिन सके नगर व्यस्त रहनेछ , बाली पाकेपछि पाख्रिवास देशमा लोकप्रिय हुनेछ र यहाँको वस्तुको आपुर्ति व्यापक हुनेछ ।
आलु , प्याज , लसुन , अधुवा , कागती , सुन्तला , जुनार , टिमुर व्यक्तिले फलाए उसैको हो पुँजी उसैको अधीनमा हुनेछ तर समाजले नियन्त्रण गरे पुँजी समाजको हुनेछ यही स्रोतबाट हामीले अन्य पुर्वाधारहरुमा लगानी गरेर विकासनिर्माण थाल्नेछौ यसो गर्दा सानो सरकारमाथि विस्वसनियता बढ्नेछ र लगानीका लागि देश तथा विदेशबाट लगानीको ओइरो लाग्नेछ । अन्यथा जनप्रतिनिधिहरु पनि ठुला – ठुला सरकारको मुख ताक्ने यता भुत्लोभाङ प्रगति नहुने खाली जनप्रतिनिधिहरु कुर्सिमा बस्न दिनभर जाने र छुट्टि भएपछि घर फर्कने मात्र हुन्छ । तसर्थ योजनाहरु केही त बनाउन सुझाब दिन चाहन्छु जस्ले सम्पन्नता को आधार तय गरून् , रुपरेखा कोरुन र सरकार भएको र केही गरेको आभास दिलावस् । सानो सरकारले सुरु गरे सिकाई जनमानस सम्म पुग्नेछ अर्थव्यवस्था पारिवारिक परिपक्वता सहित सामाजिक लाभ मार्फत राष्ट्रिय पुजीको विकासको थालनी हुनेछ । यहाँ राष्ट्रिय पुँजी भनेको सानो सरकारकै पुँजी हो । यति गर्ने हिम्मत नगर्ने हो भने कृषि सदा यथास्थितिमा रुमलिनेछ । परिवर्तनको श्रीगणेश ऊ.. नम…स्वाह …. ऊ…नम…स्वाह मात्र हुनेछ ।
समाजवादी पाख्रिबासको पानीका स्रोतहरु भएको सयौ ठाउहरुमा पोखरी , तालहरु हुनेछन् । स्वस्थ माछापालन हुनेछ , तालहरुमा बोटिङ गराइनुपर्छ । बाटोहरुमा फुलहरु फुलाउनुपर्छ , जङ्गल आसपासमा फ्लोरिकल्चर नै गर्ने हो र बी किपिङ अर्थात मौरीपालन गर्ने हो । आहा ! एकातिर श्रमिकहरुलाई श्रमको व्यवस्था अर्कातिर सानो सरकारको धनी हुने फराकिलो पाटो ।विज्ञहरुलाई अनुसन्धान गराउने यो उर्वरताले भरिपूर्ण जग्गालाई बहुआयामिक उत्पादन को केन्द्र बनाउने यो सुनौलो अवसरको ढोका खुल्ला छ नेतृत्वहरुको बेलामै होस खुले पाख्रिवास भविष्यको सुनौलो शहर र समुन्नत गाउँ हुनेछ भनेर मेरो अन्दाज भनिरहेको छ ।
डडुवा , ओख्रे , बोक्रे , मालबासेको तल्लो भुभाग , सालबोटे ,तीनदोबाने , घामेको पुछार र सिरान , आदिमा नबजातको घाँसखेती गरि बाख्रापालनलाई पकेट क्षेत्रका रुपमा विकास गरेर सानो सरकारले नै विस्तार गर्ने सहकारीको माध्यम एउटा माध्यम हो कि नगरले नै हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने। यहाँ उत्पादन भएका हजारौ बाख्राका बोका र खसीहरु, कुखुरा लगायत फलफूल र तरकारीलाई छिमेकी देशहरुमा बजारको कनेक्सन गराउने छिमेकी देश बढि महत्वकाङ्छी हुन्छ भने आन्तरिक खपत नै गर्ने देशभित्र बेचबिखन गर्ने र पछि अन्त व्यापक भएपछि देशले बाहिर व्यापारीकरण गर्ने । दुग्धउत्पादन , रागा , भेडा , कालीज , लगायत पनि पाख्रिबासका उत्कृष्ट मार्केट लिन सक्ने सम्भावनाहरु हुन् । कुरो र कुलो जता लगेपनि त्यतै जाने हो भनेझै माथि उल्लिखित कृषि व्यवसायलाई औद्यौगिकिकरण गर्न सके अर्थतन्त्र बलियो हुन्छ र रोजगार सिर्जना हुन्छ भन्नु नै यसको मुलभूत उदेष्य हो । हाम्रो अहिलेको ठोस अवस्था यहि हो हामी यहि छौ । अब अगाडि बढ्नुको विकल्प छैन । अब आधारहरुको पुर्वाधारहरु कसरी हुन्छ , कहाँबाट हुन्छ सुरु गर्नैपर्छ नत्र धेरै ढिला हुनेछ र हामी धेरै पछि पर्नेछौ । हामीले परिवर्तनका लागि पागलपन देखाउनै पर्छ देखाउनै पर्छ ।
समाजवादी गाउँको वकालत गर्दै गर्दा शिक्षा र स्वास्थ किन सुरुमै आएन भन्ने प्रश्न पाठकको मनमा उब्जिएको हुनैपर्छ । पाख्रिबास प्राविधिक शिक्षामा अब्बल छ । शिक्षाको आउटकम सुधार गर्ने सबाल प्रक्रियागत रुपमा सुधारात्मक गर्दै लान सक्नुपर्छ । उत्पादित जनशक्तिलाई यहीं व्यवस्थापन गर्न माथि सिर्जना गरिएका रोजगारका अवसरहरुमा प्रयोग गर्न सक्नु ब्यवहारिक शिक्षाको सफल पाटो हुनेछ । कृषि विशेषज्ञ र इन्जिनियरिङ क्षेत्रको माग नगरले स्वतस्फूर्त म्यानेज गर्दै दिगो विकासको अवधारणा बमोजिम लाग्नुपर्छ । अब यहाँ आशाहरुको दियो बनाएर युवाहरलाई सीपमूलक बनाउनुपर्छ , महिलाहरुलाई सिपमुलक बनाउनुपर्छ । सीपका क्षेत्रहरु निर्धारण गर्दै जानुपर्छ । सानो सरकारले यसरी मोटिभेट गर्नुपर्छ कि उसमा देशभक्ति भावना जागृत होस् । सबैले आषा गर्न सकुन । मेरो पालिका मेरो गौरबको अनुभूति भए मात्र यहाका नागरिक खुशी र सन्तुलन अनि सन्तुष्टि हुनेछन् ।
-पाख्रीबास , धनकुटा


