सधैँ सबैको सम्झनामा रहिरहने एउटा नाम स्व. हरिराज खेवा

मोहन राई परदेशी/(पाख्रिबास),धनकुटा । फूल पनि फुलेपछि एकदिन ओइलिएर जान्छ, त्यसरी नै जन्मपछिको मृत्यु एउटा पनि शास्वत नियम हो, हामी जन्मेका जति सबैले एकदिन मर्नैपर्ने हुन्छ । फरक यत्ति मात्र हो कि कोही कोपिला मै ओइलिजान्छ त कोही फक्रेपछि ।

हामीले देखेका छौं सुन्दर फूल नै सबैको प्यारो हुन्छ तर प्यारो हुँदाहुँदै पनि त्यो फूल एकदिन अवश्य ओइलिएर जान्छ भनौँ त्यो प्यारो फूल अरुभन्दा चाँडै ओइलिन्छ । ठीक त्यसरी नै सबैमाझ इमान्दार, कर्तव्यनिष्ठ, प्रतिभाशाली र सर्वगुण सम्पन्न एक कर्मठ व्यक्ति जो जनताको दुःख सुखको सहयात्री बनेर कर्तव्य पथमा लम्किरहनु हुन्थ्यो । हामी माझबाट दैवले पनि यत्ति छिट्टै चटक्क चुँडेर लग्नु भयो, सम्झिंदा पनि सपना पो हो कि जस्तो लाग्ने हो उनै व्यक्तित्व हुन् हरिराज खेवा ।

हुन त म वहाँसँग नजिकबाट त्यति धेरै परिचित छैन तर पनि वहाँको गीत सुनेको छु, वहाँको लेख रचनाहरू पढेको छु । लाग्थ्यो आहा ! यो व्यक्तिसँग भेटेर भलाकुसारी गर्न पाए, त्यो चाहनालाई अलिकति र छोटो भएपनि मिलाइदियो दोस्रो संविधान सभाको चुनावले । त्यही क्रममा भेटघाट र परिचयको आदान-प्रदान भने दोस्रो संविधानसभा निर्वाचनको बेला वहाँसँग धनकुटाको पाख्रिबासमा भेट भएर भलाकुसारी गर्ने छोटो मौका मिलेको थियो ।

वहाँ साँच्चिकै पढेको र सुनेको भन्दा नि प्रतिभाशाली, प्रभावशाली पाएँ । दुर्भाग्यवस वहाँ दोस्रो संविधान सभाको निर्वाचनमा सुनिलबहादुर थापासँग पराजित हुनु भएको थियो । जनचाहना अनुसार निमुखा, बेसहारा र गरिब वर्गको नेतृत्वमा अग्रपंक्तिमा रहेर सदैव काम गरिरहनु हुने जनतामाझ निक्कै लोकप्रिय नेताको रूपमा चिन्ने मौका पाएँ त्यतिबेला ।

सायद त्यही भेट हाम्रो लागि पहिलो र अन्तिम भेट बनिदियो । म प्रायः वैदेशिक रोजगारीको क्रममा परदेशमा रहनु परेकोले पनि होला सायद तर त्यो हाम्रो छोटो भेट मेरो लागि एक अमिट भेट भएर सम्झनामा सधैं रहिरहनेछ । वहाँ हामी माझ नरहनु भएपनि वहाँको त्यो आदर्श, मान्यताले हामीलाई घच्घचाइ रहनेछ पर्यन्तसम्म ।

मैले पढे र सुने अनुसार वहाँको बारेमा एकदुई शब्द लेख्न यत्ति जमर्को गरेँ । वहाँ वि.सं. २०२५ साल कार्तिक २७ गते धकुटा हात्तीखर्क (६ ज्योतिनगरमा बुबा हृदयमान र आमा तिर्थमाया लिम्बूको कोखमा जन्मिएका लिम्बूले अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।

बिद्यार्थी जीवनदेखि नै हरेक क्षेत्रमा सक्रिय र रुचि राख्ने लिम्बूले २०४२ सालमा विद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्य भएर राजनीति सुरु गर्नुभएको थियो ।

त्यसपछि २०५० सालमा आएर गाउँकै जनकल्याण प्राथमिक विद्यालयमा शिक्षकसमेत भएका उनी छोटै समयमा सोही विद्यालयको प्रधानाध्यापकसमेत बनेका थिए । अध्यापनकै क्रममा उनी २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट आफ्नै स्वयं काकाको छोरा भन्दा दोब्बर मत प्रप्त गर्दै हात्तिखर्क गाविसको अध्यक्षमाको रूपमा विजयी भएका थिए ।

त्यसपछि वहाँले राजनैतिक उतारचढावमा कहिल्यै पछाडि फर्केर नहेरी जनताको सेवामा सधैँ लगन र समर्पित भइ निश्वार्थ सेवामा लागिरहनु भयो र २०५४ सालको पहिलो संविधानसभा निर्वाचनमा एकिकृत नेकपा माओवादीको तर्फबाट धनकुटा क्षेत्र नम्बर २ बाट १२ हजार २ सय ९९ मत प्राप्त गरी धनकुटाबाट पटक पटक विजयी भएका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई पराजित गर्दै सबैभन्दा कम उमेरमा संवैधानिक समितिका सदस्यसमेत बन्नु भएको थियो ।

पहिलो संविधानसभापछि बनेको तत्कालिन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वर्षमान पुन अर्थमन्त्री रहंदा उनी अर्थराज्यमन्त्री समेत भएका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । लामो समय एमालेमा राजनीति गरेका खेवा माओवादी सशस्त्र द्वन्द्वको अन्तिम समयमा माओवादीमा प्रवेशसँगै काठमाडौं उपत्यकामा निक्कै क्रियाशील रहे ।

सायद दैवलाई पनि राम्रै मान्छे चाहिन्छ, २०७३ साउन १३ गते धनकुटाको सिधुवा बजारनजिकै बिहीबार दिउँसो साढे १२ बजेतिर बा २ ख ७३६६ नम्वरको बस दुर्घटना हुँदा वहाँलाई पनि मृत्युले टिपेर लानुभयो ।

१३/१४ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका खेवा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष र लिम्बूवान मुक्तिमोर्चाको केन्द्रीय महासचिव र भक्तराज कन्दङ्वा स्मृति प्रतिष्ठानका अध्यक्ष रहँदै दुर्घटनामा परि ज्यान गुमाउन पुगेका हुन् ।

राजनीतिसँगै नेपाली साहित्य विधामा पनि उत्तिकै पोख्त खेवाको ‘अपदस्त जिन्दगी’ (एकाङ्की नाटक सङ्ग्रह २०६४) पनि विश्वासदीप तिगेलाको सम्पादन/प्रकाशनमा प्रकाशित भइसकेको छ ।

त्यसका साथै जन्म जिल्ला धनकुटाको वर्णन गरिएको गीत ‘धनकुटाको बजारमा हावा सरर’ गीत रेकार्डिङ समेत गरेका थिए । झण्डै एक दर्जन नाटकहरूमा अभिनय समेत गरेका खेवा २०५५ सालमा भएको नेपाल अधिराज्यव्यापी रेडियो नाटक प्रतियोगितामा गोल्ड मेडालिष्ट समेत हुन् । यसका साथै वहाँका थुप्रै लेख रचनाहरू प्रकाशित छन् ।

वहाँ हामी न्यायप्रेमी, विकासप्रेमी देशका जनताले त्यो बस दुर्घटनासँगै एक स्वच्छ, वफादर र इमानदार नेता जो देश र जनताको लागि लागिपर्थे । जसलाई गुमायौं । वहाँ हामी माझ नरहनु भए पनि वहाँको काम, नीति र वहाँका अमर कृतिहरू हामीमाझ सधैं रहिरहनेछ । जनताले सधैं सधैं सम्झिरहनेछन् । मरेर गएपनि देश र जनताको लागि सधैं सम्झनामा अमिट छाप भएर सधैँ मुस्कुराई रहनुहुनेछ ।

युगौं युगसम्म पनि के राजनीतिज्ञ, के साहित्यकार, के गीतकार / संगीतकार / गायक- गायिका, के विद्यार्थी, के शिक्षक, के गरिब के धनी सबै सबै सर्वहारा वर्गले अनि धनकुटाले मात्र होइन मातृभूमिले सम्झिरहनेछ । हामीमाझ कतै नेता भएर, कतै दिनदुःखी बनेर त कतै शिक्षक, साहित्यकार बनेर पर्यान्तकालसम्म रहिरहनु हुनेछ अजर-अमर बनेर ।

अन्तमा वहाँप्रति श्रद्दा-सुमन सहित वहाँले चाल्नु भएका पाइलाहरू पच्छ्याउँदै, ती गोरेटोहरू खोज्दै हिंड्न सक्यौं भने वहाँप्रति सच्चा श्रद्धान्जली हुनेछ ।

(प्रस्तुत लेख हरिराज खेवा ( तिगेला) स्मृति – ग्रन्थ मा प्रकाशित छ ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।