जापानिज प्रेमिका भेटन गएका म्याग्दीका छन्यालको छुरा प्रहार गरी जापानमा हत्या
टोकियो । प्रेमिका भेटन गएका म्याग्दी घर भई जापानको चिवामा बस्ने बादल छन्त्यालको छुरा प्रहारबाट हत्या भएको छ ।
चिवा प्रिफेक्चस्थित नरासिनो सिटीमा चक्कु प्रहारबाट म्याग्दी घर भई जापान बस्ने बादल छन्त्यालको मृत्यु भएको हो ।
पुरानो घर म्याग्दी भएपनि छन्यालको परिवार हाल कास्कीको पोखरामा बसोबास रहेको छ ।
परिवारका अनुसार करिब ३० वर्ष उमेरसमूहकी निज युवती र छन्त्यालमाझ गत एक वर्षदेखि प्रेमसम्बन्ध रहेको र प्रेममा खटपटपछि छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि छन्त्याल होटल गएका थिए । त्यस होटलमा उनीहरू गत एक वर्षदेखि हरेक आइतबार जाने गरेको दावी गरिएको छ ।
आइतबार बिहान ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमै रहेको बुझिएको छ । त्यसपछि उनका दाजु तेजेन छन्त्यालले आइतबार बेलुका साँझ ५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाएको बताए ।


