अविरल वर्षापछि अबरूद्द सांगुरीगढी स्थित बेस्राङ-बान्थे सडक धमाधम सरसफाई
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत पर्ने आहाले, कटहरे, बेस्राङ, खर्वनी र बान्थे हुँदै वडा नं. ८ खुँडी जोड्ने ग्रामीण सडकमा धमाधम सरसफाई र मर्मत कार्य भइरहेको छ।
गत असोज १८ र १९ गते लगातार परेको अविरल वर्षाका कारण उक्त सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरूको दैनिक आवतजावत र बिरामी बोक्ने एम्बुलेन्स सेवा समेत प्रभावित भएको थियो।
सडक सञ्चालनमा ल्याउन वडा नं. ९ का जनप्रतिनिधिहरू, स्थानीय युवा र वडावासीहरूको पहलमा गाउँपालिकाको जेसिभी मेसिन परिचालन गरी सडक सरसफाई तथा पहिरो हटाउने काम तीव्र रूपमा जारी रहेको छ। स्थानीय युवाहरू सक्रिय रूपमा श्रमदान गर्दै सडकको मर्मत कार्यमा सहभागी भएका छन्।
हालसम्म सडकको अधिकांश भाग खुलाइसकिएको र बाँकी ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ।


