नमस्ते झरना जाने मार्ग पुनर्निर्माण कार्य शीघ्र सुरु हुने
हिराराज राई,धनकुटा । हालैको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको नमस्ते झरना जाने पहुँच मार्गलाई तत्काल पुनर्निर्माण कार्य सुरु गरिने भएको छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सो मार्गको पुनर्निर्माण कार्य शीघ्र सुरु गरी छोटो समयभित्रै पर्यटकका लागि पुनः खुला गरिने जानकारी दिनुभएको हो।

अध्यक्ष राईका अनुसार अविरल वर्षाबाट झर्नातीर प्रस्थान हुने मार्गको विभिन्न भाग क्षतिग्रस्त भएका कारण पर्यटक आवागमन अस्थायी रूपमा रोकिएको थियो। “गाउँपालिकाले आवश्यक प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बजेट व्यवस्था गरेको छ,” अध्यक्ष राईले बताउनुभयो, “छिट्टै काम सुरु गरेर नमस्ते झरना फेरि पर्यटकका लागि सुरक्षित र आकर्षक बनाइनेछ।”
धनकुटाको प्रसिद्ध पर्यटनस्थल मानिने नमस्ते झरना आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणस्थलको रूपमा परिचित छ। मार्ग पुनः सञ्चालनमा आएपछि स्थानीय पर्यटन पुनर्जीवित हुने अपेक्षा गरिएको छ।


