साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट, कर्मचारीको घोर निन्दा
हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण बहादुर राईमाथि गाउँपालिकाकै वडा नं. १ का वडाध्यक्ष गोबिन्द लिम्बुले कार्यकक्षमै कुटपिट गरेको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरुले संयुक्त रूपमा घोर निन्दा गरेका छन्।
कर्मचारीहरुले आज (मंसिर २७ गते) जारी गरेको विज्ञप्तिमा मंसिर २६ गते साँझ करिब ४:५० बजे कार्यकक्षमा रहेर काम गरिरहेका योजना अधिकृत राईमाथि वडाध्यक्ष लिम्बुले हातपात गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “कार्यकक्षमै एक राष्ट्रसेवक कर्मचारीमाथि भएको निर्घात हमला निन्दनीय छ। जनप्रतिनिधिले कर्मचारीको अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै हातपात गर्नु अक्षम्य कार्य हो।”
कर्मचारीहरुले घटनाको निष्पक्ष छानबिन गरी आक्रमणकारी वडाध्यक्षलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। साथै, मागलाई बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएका छन्।
उनीहरूले यस प्रकारको घटना गाउँपालिकाभित्रका कर्मचारीहरूको मनोबलमा गम्भीर असर पर्ने भएकाले दोषीमाथि शीघ्र कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
साँगुरीगढी गाउँपालिकाका कर्मचारीहरू अहिले सामूहिक रूपमा न्यायका लागि आवाज उठाइरहेका छन्।



