बोलेरो दुर्घटनामा एक जनाको मृत्यु
चितवन । चितवनको कालिका नगरपालिका क्षेत्रअन्तर्गत सिद्धि–कल्याणचौर भित्री सडकखण्डमा गएराति भएको बलेरो दुर्घटनामा खैरहनीका राजनीतिक तथा सामाजिक व्यक्तित्व राममणि न्यौपानेको मृत्यु भएको छ।
सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका खैरहनी–४ का राममणि न्यौपानेलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको चितवन प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बलेरोमा चालक बाहेक अन्य कोही सवार थिएनन्। जीप घटनास्थलमै भेटिएको छ। घटनास्थल प्रहरी चौकी जुटपानीबाट करिब २० किलोमिटर उत्तरतर्फ पर्छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


