मोरङको कानेपोखरीमा थ्रेसर मार्फत धान झार्ने क्रममा आगलागी
मोरङ । मोरङको कानेपोखरी–२ थारुचोकमा थ्रेसरमार्फत धान झार्ने क्रममा आगलागी भएको छ।
ट्याक्टरको साइलोन्सर पाइपबाट चिँगा निस्कँदा आगो लागेको कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिएका छन्।
घटना पश्चात नगरप्रहरी र स्थानीयको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट ट्याक्टरमा क्षति पुगेको छ भने थ्रेसरमा झारिँदै गरेको धान जलेर नष्ट भएको नगरप्रहरीले जनाएको छ।
स्थानीयले समयमै आगो नियन्त्रणमा लिइएकाले आगलागी फैलिन नपाएको बताएका छन्।


